बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

मुग्लिन (चितवन) । जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालले सोमबार गाउँसभाबाट पारित भएको बजेटमा बाँझो जमिन प्रयोग तथा साना सिँचाइ कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरिएको बताइन् । बाँझो जमिनमा खेती गर्ने किसानलाई आवश्यक बीउ सिँचाइलगायत अनुदान दिइने उनी बताउँछिन् । यसैबीच गाउँपालिकाले बाख्रापालन, सुन्तलाखेती, मकैलगायत परम्परागत बाली संरक्षणलाई निरन्तरता दिएको उनको भनाई छ ।

उपाध्यक्ष सिलवालका अनुसार किसानसँगको लागत साझेदारीमा बाख्रापालन प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि रु २७ लाख, सुन्तलाखेतीका लागि रु २६ लाख, मौरीपालन कार्यक्रमका लागि रु ७ लाख, मकैखेती कार्यक्रमका लागि रु ७ लाख, कृषि बाली तथा पशुपन्छीमा फैलिने रोग नियन्त्रण साथै मिनी ल्याब एवं औषधोपचार कार्यक्रमका लागि रु ९ लाख ५० हजार, पशुपालक किसानलाई पशुधनको उपचारमा प्रयोग हुने विभिन्न औषधि निःशुल्क उपलब्ध गराइने छ ।

साथै उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्न कृषि तथा पशु उत्पादनको लागि एकमुष्ट रु ६ लाख तथा सोको तथ्याङ्क अभिलेखीकरणका लागि रु एक लाख, सामूहिक खेती एवं नवप्रवद्र्धन व्यवसाय प्रोत्साहनका लागि रु ५ लाख, पर्यटकीयस्थल जलवीरेमा कोसेली घर सञ्चालनमा ल्याई स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा सहयोग गर्नका लागि रु २५ लाख, फिस्लिङ तरकारी उपज सङ्कलन केन्द्रलाई कृषकहित अनुकूल हुने गरी कार्यविधिअनुरुप सञ्चालनमा ल्याउनका लागि रु १० लाख विनियोजन गरिएको छ । रासस

lcci
You might also like

Comments are closed.