तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

डुम्रे (तनहुँ) । बर्सेनी रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो ।

जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र मल आउने क्रम जारी रहेकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीले जनाएको छ । कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा विगत वर्षमा किसानले मल अभाव झेल्नु परेको प्रमुख दिनेश शर्माले जानकारी दिए । उनका अनुसार जिल्लामा माग भएअनुरुप नै आयात भइरहेको र मौज्दात रहेको मल वितरण भइरहेको छ । रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने र मागअनुसारको आइरहेको र आउने क्रम जारी रहेकाले अभाव नहुने उनले बताएका छन् ।

कृषि ज्ञान केन्द्र र कृषि सामग्री कम्पनीसँगको मङ्गलबार भएको छलफलपछि सहमतिमा असार १५ गतेदेखि युरिया र डिएपी मल एकसाथ वितरण गरिने उनले बताएका छन् । उनले कम्पनीसँग रहेको मौज्दातले माग धानेकाले अभाव नहुने बताउँछन् । उनी भन्छन्, “अहिले पनि डिएपी मल पठाइरहेका छौँ, १५ गतेबाट युरिया र डिएपी दुवै मल बिक्री वितरण हुन्छ ।”

कृषि सामग्री कम्पनी लिमिटेडले तनहुँ र लमजुङ जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । तनहुँलाई १५० टन युरिया र दुई सय टन डिएपी र लमजुङका लागि एक सय टन युरिया र एक सय टन डिएपी वितरण हुनेछ ।

प्रमुख शर्माका अनुसार युरिया १६ सय ५० टन, डीएपी ४०३ टन, पोटास ५३ टन र चुना तीन टन आयात भएको छ भने थप मल आउने क्रममा रहेको छ । तनहुँका लागि युरिया ११ सय ४०, डिएपी २९५ टन र पोटास ३६ टन माग छ । लमजुङको लागि युरिया पाँच सय टन, डिएपी १०८ टन र पोटास १७ टन माग छ ।

गण्डकी प्रदेश सरकारले कोटा निर्धारण गरिसकेको र असार १५ देखि रोपाइँ धमाधम हुने भएकाले वितरणलाई पनि प्रभावकारी तवरबाट गरिने उनले बताए । गत वर्ष चार प्रकारका मल गरी १४ सय १८ टन मात्रै मल आएकाले अभाव भएको थियो । तनहुँमा ९५ र लमजुङमा ५२ गरी १४७ वितरण केन्द्र छन् ।

कृषि ज्ञान केन्द्रले आवश्यकतानुसार पालिकालाई कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार केन्द्रको कोटा निर्धारण गरी पत्र पठाएपछि मल प्रदान गरिने शर्माले जानकारी दिएका छन् । गत वर्षभन्दा यस वर्ष धेरै मल आयात गरिएकाले अभावको समस्या नआउने शर्माको विश्वास छ । रासस

lcci
You might also like

Comments are closed.