जिल्लास्तरीय संघ बलियो बनाउन राष्ट्रिय सहकारी महासंघ सकारात्मक

काठमाडौं । जिल्लास्तरीय संघहरुलाई अझ प्रभावकारी र बलियो बनाएर लैजानुपर्नेमा राष्ट्रिय सहकारी महासंघ सकारात्मक रहेको महासंघका अध्यक्ष ओमदेवी मल्लले बताएकीछिन् । उनले बागमती प्रदेशका जिल्ला बचत तथा ऋण सहकारी संघले बुझाएको ज्ञापनपत्र बुझ्दै जिल्लास्तरीय संघको अस्तित्वका विषयमा महासंघ सकारात्मक रहेको बताइन् ।

संघ बलियो र दिगो भएमात्र महासंघ बलियो हुने विषयमा आफू स्पष्ट रहेको, यस विषयमा जिल्लास्तरीय संघसँग नै छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । पछिल्लो समय महासंघ बहस पैरवीमा सक्रिय भइरहेको महासंघका उपाध्यक्ष डिवि बस्नेतले बताउँदै महासंघ आफ्ना सदस्य संघको मुद्दालाई लिएर अगाडि बढीरहेको जानकारी दिएका छन् ।

संघीय सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा सहकारीको तहगत संरचनाको स्पष्ट व्यवस्था भएको र ती संरचनाको कार्यहरु पनि स्पष्ट किटान भएकाले जिल्लास्तरीय संघले डिभिजन सहकारी खारेज भएको अवस्थामा सो निकायले गर्ने कार्यको सहजिकरण गर्दै आएको संघको संयुक्त विज्ञप्तीमा उल्लेख रहेको छ । जिल्लास्तरीय संघले प्रारम्भिक सहकारी संस्थाको संस्थागत विकास तथा क्षमता अभिबृद्धि गरेको, सहकारीको पैसा सहकारीमा परिचालन गरेको र प्रारम्भिक संस्थालाई प्राविधिक ज्ञान हस्तान्तरण गर्नेदेखि नेतृत्व विकासमा भूमिका खेलेको विज्ञप्तीमा उल्लेख छ ।

संघले कोपोमिसनमा प्रारम्भिक संस्था आवद्ध रहेको संघ छनोट गर्नेमा जिल्ला तहका संरचना हटाई प्रदेश, केन्द्रीय र राष्ट्रिय सहकारी बैंकको संरचना मात्र रहेको विषयमा समेत गम्भिर ध्यानाकर्षण भएको बताइएको छ । कोपोमिस प्रणालीमा जिल्ला तहको संरचना हटाउनु जस्तो गम्भिर त्रुटीलाई अविलम्ब सच्याउन पहल गर्न समेत माग गरिएको काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन)का अध्यक्ष दिपक पनेरु बताउँछन् ।

जिल्ला संघले बुझाएको ज्ञापनपत्रमा ऋण तथा ब्याज असुलीमा सकस बढेकाले भाखा नाघेको ऋण बढेको अवस्थामा यस आर्थिक मसान्तको खातावन्दीमा अन्यौलताको अवस्था सिर्जना भएको हुदा सहकारी विभागमार्फत स्पष्ट मार्ग निर्देशन जारी गराउनुपर्ने समेत उल्लेख छ ।सहकारी प्रवद्र्धन कोषको रकम सहकारी अभियानको प्रवद्र्धन लगानी गर्ने वातावरण सिर्जना गर्न, सहकारी ऐनमा रहेको सहकारी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण लगायतका महत्वपूर्ण विषयहरु कार्यान्वयनमा दबाब दिन समेत महासंघलाई आग्रह गरिएको छ ।

सो कार्यक्रममा महासंघका सञ्चालक टेकप्रसाद चौलागाई, काशीचन्द्र बराल, परितोष पौड्याल, सुमन नेपाल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द्र लाखाजु, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायष्ठ, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कल्पना श्रेष्ठ लगायत सहभागी थिए ।

 

 

You might also like

Comments are closed.