देवघाटमा १४२ आयोजना सम्पन्न

दमौली (तनहुँ) । देवघाट गाउँपालिकामा एक वर्षमा १४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा ११६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका इन्जिनियर तीर्थ ढुङ्गानाका अनुसार पूरा भएका योजनामध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय १०१ छन् । वडा नं २, ३, ४ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं १ गाउँपालिका प्रशासकीय भवन पूरा हुने चरणमा छ ।

इन्जिनियर ढुङ्गानाले १० शय्याको देवघाट आधारभूत अस्पताल भवनको पहिलो तलाको ढलान गरिएको जानकारी दिए । उनका अनुसार गाउँपालिकास्तरीय बजेटबाट बाटो कालोपत्र कार्यको सुरु गरिएको छ । गाउँपालिकाअन्तर्गत रहेको सिच्याङ्ग र वैदी स्वास्थ्यचौकीमा थप पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन तथा मर्मत कार्य सम्पन्न गरिएको उनले बताए । त्यस्तै गाउँपालिकाभित्र १० किलोमिटर नयाँ ट्रयाक निर्माण र २३० किलोमिटर सडक मर्मतसम्भार गरी यातायात सञ्चालन गरिएको उनले बताएका छन् ।

गाउँपालिकाका सबै वडा गरी जम्मा ११ वटा नयाँ आरसिसी खानेपानी ट्याङ्की निर्माण गरी खानेपानीको पहुँचमा वृद्धि गरिएको छ । उनका अनुसार रिस्तीखोला, देउतीखोला र चाँपखोलामा तीनवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । देवघाट–५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणका लागि डिपिआर तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षणकार्य भइरहेको जनाइएको छ । सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचना पुनःनिर्माण गरी सञ्चालनयोग्य बनाइएका छन् ।

गाउँपालिकाअन्तर्गत थप पाँचवटा विद्यालय भवन निर्माण सम्पन्न गरिएको छ भने घिनाटारबाट टाउनचोकसम्म मोटरबाटो कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । यस्तै पिपलटारबाट मधुवन चोकसम्म र भुवनटारमा कालोपत्र गर्न थालिएको इन्जिनियर ढुङ्गानाले जानकारी दिए । चालु आर्थिक वर्षमा पालिकाको अनुगमन समितिबाट २२ पटकको अनुगममा ९९ वटा योजनाको अनुगमन गरी ६ वटा योजनाको कार्यान्वयनमा सुधारका लागि सुझाव दिइएको गाउँपालिकाका उपाध्यक्ष एवं अनुमन समितिका संयोजक भुवनसिंह गुरुङ बताउँछन् ।

सिँचाइतर्फ वडा नं १ मा एउटा, वडा नं २ को खाल्टेफाँटमा तीनवटा, वडा नं ३ मा एउटा र वडा नं ५ मा चार गरी ९ वटा योजना सम्पन्न भएका छन् । साथै २५ सय मिटर पक्की सिँचाइ कुलो निर्माण भएको छ । सोलार प्रणालीबाट सञ्चालनमा रहेका दुईवटा लिफ्टिङ खानेपानी योजनामा समस्या भएपछि विद्युतीय माध्यमबाट तिनलाई कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी, वडा नम्बर ५ मा तीनवटा डिपबोरिङ सम्पन्न हुने चरणमा रहेका र वडा नं ५ को झारखानीमा लिफ्टिङ सिँचाइ निर्माणाधीन छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले नागरिकका विकास चाहना पूरा गर्ने अभियानमा आफूहरू क्रियाशील रहेको बताएका छन् । रासस

You might also like

Comments are closed.