दही चिउरा प्रवद्र्धन गर्दै नेपाली डेरी एसोसिएसन

काठमाडौं । नेपाल डेरी एसोसिएसनले असार १५ को उपलक्ष्यमा दही चिउरा खाने एवं भेटघाट कार्यक्रम गरेको छ । एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागीलाई हरेक वर्ष जस्तै यो वर्ष पनि अध्यक्ष दाहालले असार १५ को उपलक्ष्यमा दही चिउरा खुवाउँदै मायाको चिनो स्वरुप दही र चिउरा वितरण गरेका छन् । उनले असार १५ मानो रोपेर मुरी फलाउने, धान दिवसको रुपमा मनाउने र दही चिउरा खाने दिनको रुपमा लिने गरिएको बताए । उनका अनुसार असार १५ मा देशभर करीब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुनेछ ।

प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दही चिउरा खानु हाम्रो संस्कृती हो र यस्ता कार्यक्रम वर्षमा एकचोटी मात्र होइन बारम्बार गरिरहनुपर्ने बताउँछन् । किसानले उत्पादन गरेको दूध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउन खालका कार्यक्रम गर्न सुझाव दिदै उनले दुग्ध उद्योगी र किसानको क्षेत्रमा राष्ट्रिय दुग्ध विकास बोर्ड सहयोगीको भुमिकामा रहने बताएका छन् । अहिले रोकिएको किसानको भुक्तानी दिलाउन बोर्ड पूर्ण रुपमा लागेको उनले जनाएका छन् ।

पशुसेवा विभागका पशु विकास अधिकृत सिताराम वलीले किसानले उत्पादन गरेको दूध तथा दुग्ध पदार्थ खपतका लागि नेपाल डेरी एसोसिएसनले गरेको मोही अभियान लगायत यस्ता खपत बढाउने क्रियाकलापको खुशी व्यक्त गर्दै यस क्षेत्रमा पशु सेवा विभाग सधैं साथमै रहिरहने बताए । केन्द्रिय दुग्ध उत्पादक सहकारीका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले एसोसिएसनले चलाएको मोही अभियान, दही चिउरा खाने, खिर खाने लगायतका हरेक कार्यक्रमले किसानको उत्पादन खपतमा ठूलो सहयोग पुगेको बताउँदै दहीको महत्व र किसानको समस्याबारे आफ्ना धारणा राखेका छन् ।

एसोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमलाले कार्यक्रममा सहभागीलाई सबैलाई धन्यवाद दिंदै एसोसिएसनले खपत बढाउन यस्ता कार्यक्रमहरु हरेक विद्यालयमा गर्दै जाने जानकारी गराउँदै दहीको महत्व र संस्कृतिको जगेर्ना गर्न सरोकारवाला सधैं लाग्नुपर्ने बताउँछन् । नेपाल डेरी एसोसिएसन सधैं किसानको हितमा काम गर्ने संस्था रहेको हरेक क्रियाकलापले पुष्टि गरेको छ । दुग्ध क्षेत्रका क्रियाकलापले किसानको उत्पादनमा खपत बढ्ने हुन्छ ।

कार्यक्रममा केन्द्रिय दुग्ध सहकारीका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिपप्रसाद धमला, मनोजकुमार घिमिरे, सह–कोषाध्यष रामभक्त दाहाल, सदस्य रमेश सञ्जेल, बागमति प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरे, सचिव श्याम घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघका उपाध्यक्ष दिपक सञ्जेल, पत्रकार, रोटरी क्ल्ब अफ कपनका सदस्यहरु, अप्टिमेस्टिक क्लब नेपालका सदस्यहरु, प्याब्सन र एन प्याब्सनका प्रतिनिधि लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.