रामपुर ४ मा टोल वस्ती पहिचानका लागि सूचना पाटी

सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिका वडा नं ४ को वडा कार्यालयले टोल पहिचानका लागि सूचना पाटी राखेको छ ।

वडा कार्यालय र टोल विकास संस्थाको समन्वयमा वडाध्यक्ष रामबहादुर रानाको नेतृत्वमा वडाका जनप्रतिनिधि, टोल विकास संस्था, टोलवासी र सरोकारवालाको सहभागीतामा सो सूचना पाटी राखिएको हो ।

वडाका १२ वटै टोल विकास संस्थामा टोल पहिचानसहितको सूचना पाटी राखिएको वडाध्यक्ष रामबहादुर राना बताउँछन् । बाहिरबाट वडा तथा टोल, गाउँ वस्तीमा आउने आगन्तुक पाहुनालाई निश्चित गन्तव्यस्थलमा पुग्न सहज होस् भनेर विभिन्न मार्ग, वडा कार्यालय जाने बाटोको सहजै जानकारी लिन सकिने गरी सूचना पाटी जडान गरिएको वडाध्यक्ष रानाले बताए ।

“वडामा बाहिरबाट आएका कुनैपनि नयाँ व्यक्ति ठाउँ पहिचानको समस्याले अलमलमा हुन नपरोस्, सूचना पाटी हेरेर सजिलैसंग आफू पुग्ने गन्तव्यमा पुग्न सकिन्छ” वडाध्यक्ष रानाले भने,–“वस्ती बढ्दै गएकाले पनि सर्वसाधारण नागरिकका लागि सजिलो होस् भनेर प्रत्येक टोल–टोलमा राखिएको सूचना पाटी हेरेर सम्बन्धित टोलको विवरण, वडा कार्यालय जाने बाटो सहजै पत्ता लगाउन सकिनेछ” ।

वडामा १२ वटा टोल विकास संस्था दर्ता भई सञ्चालनमा रहेका छन् । गाउँपोखरा, रेवतीपोखरा, देविस्थान, बौद्ध विहार, बाङ्गेपसल भिमसेन, गोदाम चौपारी, इस्लामपुर, ब्यास बसपार्क, सदावर्त, संगम, लखन र सुधार टोल विकास संस्थाले सामाजिक कार्यमा सक्रिय रुपमा काम गर्दै आइरहेका छन् ।

वडा कार्यालयले गर्ने विभिन्न गतिविधि सम्पन्न गर्न टोल विकास संस्थासँगको सहकार्यमा गर्ने गरेको छ । टोल विकास संस्थालाई क्रियाशिल बनाउन वडाले सीप विकास, नेतृत्व विकास लगायतका विभिन्न सामाजिक चेतनाका कार्यक्रम गर्दै आएको वडाध्यक्ष रानाले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.