सत्ती भन्सारद्वारा ९ करोड राजश्व सङ्कलन

लम्की (कैलाली) । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा रु ९ करोड ८० लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ ।

सत्ती भन्सार कार्यालयले चालु आवमा रु १२ करोड १ लाख ४७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए ।

गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले रु १६ करोड ९४ लाख ४१ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा रु ७ करोड ५० लाख ४० हजार मात्र राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए । “यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौैँ”, उनले भने ।

सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत रु ६४ हजार, बेरुजुबाट रु १ लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ रु ४१ हजार, अन्तःशुल्क आयातमा रु २३ लाख ११ हजार, भन्सार महशुल आयातमा रु ५ करोड १ लाख, कृषि सुधार शुल्कमा रु १ लाख ८ हजार, भन्सार सम्बन्धी अन्य आयमा रु ६ लाख ३९ हजार, मुल्य अभिवृद्धि कर आयातमा रु ४ करोड ४६ लाख ९७ हजार तथा हरित करबाट रु ४ हजार राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताएका छन् ।

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यसबाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ । रासस

You might also like

Comments are closed.