अपाङ्गता भएका १० जनालाई उन्नत जातका बाख्रा वितरण

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाद्वारा ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका १० जनालाई बीउपुँजीको रूपमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई/दुईजना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्य गाउँपालिकाको रहेको स्थानीय अपाङ्गता समन्वय समिति सदस्य सचिव हिरामान श्रेष्ठले बताए । उनका अनुसार घिरिङ–१ बाट तुलसी कुमाल, बिष्ने दमाई, वडा नं २ बाट पदम थापा, सोमबहादुर दमाई, वडा नं ३ बाट सुकमाया सार्की, मनकुमारी श्रेष्ठ, वडा नं ४ बाट भुरेली कुमाल, सुकमाया कुमाल र वडा नं ५ बाट उमा थापा र ऋतिक श्रेष्ठलाई बाख्रा वितरण गरिएको छ ।

वडा नं ५ निवासी २८ वर्षीय सङ्गीता नेपाली दुवै खुट्टा टेक्न नसक्ने अशक्त रहेकीले दुईवटा ‘क्यालिपर’ खुट्टा जडान गर्ने पहल भइरहेको श्रेष्ठले बताएका छन् । योसँगै नेपाली वैशाखीको प्रयोगले सामान्य हिँडडुल गर्न सक्ने हुनुहुने उनको भनाइ छ । ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिका लागि राज्यले मासिक भत्ताको व्यवस्था गरेको समिति सदस्य सचिव श्रेष्ठले जानकारी दिए । “ग र घ वर्गका अपाङ्गता भएकालाई यस वर्षदेखि गाउँपालिकाले आयआर्जनतर्फ उन्मुख गराउन थालेको र गाउँपालिकाभित्र २८२ जनाले विभिन्न किसिमका अपाङ्गता परिचयपत्र लिइसकेका छन् ।

‘ग’ वर्गका ४९ र घ वर्गका १४ गरी ६२ जना मध्यम र सामान्य किसिमका अपाङ्गता रहेका अपाङ्गता समन्वय समिति सदस्य कृष्णप्रसाद अधिकारीले जानकारी दिए । परिचयपत्रको आधारमा सेवा सुविधा पाउन थालेपछि अपाङ्गता भएका व्यक्तिमा थप उत्साह मिलेको छ । उनी भन्छन्, “गाउँपालिकाले उदाहरणीय कार्य सुरु गरेको छ, यसबाट अपाङ्गता भएका व्यक्तिले राहतको महसुस गरेका छौँ ।”

शारीरिक रूपमा अशक्त व्यक्तिको जीवनस्तर उकास्न गाउँपालिकाले पहलकदमी गर्दै आएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा बताउँछन् । उनका अनुसार मध्यम र सामान्य गरी ६२ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्न पालिकाले प्रक्रिया अगाडि बढाइसकेको छ । “आर्थिक वर्ष २०८०/८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न रु चार लाख बजेट विनियोजन गरिएको थियो” उनले भने । रासस

You might also like

Comments are closed.