भू–क्षय रोकथामका लागि ६७ हजार बिरुवा वितरण

पर्वत । पहिरो तथा भू–क्षय रोकथामका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले यस वर्ष ६७ हजार बिरुवा वितरण गरेको छ । पहिरोको जोखिम रहेका पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा विभिन्न प्रजातिका ६७ हजार बिरुवा वितरण गरिएको हो ।

कार्यालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत ६० हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएकामा यसवर्ष लक्ष्य भन्दा सात हजार बढी बिरुवा वितरण गरिएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए । उनका अनुसार राईखन्यू, निमारो र किम्बूका बिरुवा निःशुल्क वितरण गरिएको हो ।

विभिन्न समूह, पशुपालक किसान, सहकारी तथा अन्य सङ्घसंस्थाले मागका आधारमा बिरुवा रोपिने प्रमुख पौडेलले बताए । “पहिरोको जोखिम भएका क्षेत्रमा बिरुवा रोप्दा बिरुवाका जराले वरिपरिको माटोलाई कसिलो बनाएर राख्ने गर्दछ”, उनले भने, “रुख र वन दुवैले वातावरण जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् । रुखले हावा, पानीलाई स्वच्छ बनाउनुका साथै बाढीपहिरोबाट जोगाउँछ ।”

कमजोर र भिरालो जमिनमा थोरै दवाव पर्दा पनि पहिरो जानसक्ने हुनाले यो क्षेत्र पहिरोको दृष्टिकोणले अत्यधिक जोखिमयुक्त मानिने बताउँदै वातावरण संरक्षण गर्न र बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न खाली तथा भिरालो जमिनमा बिरुवा रोप्नु उपयुक्त विकल्प रहेको प्रमुख पौडेल बताउँछन् ।

बिरुवा रोपेर मात्र नहुने भन्दै यसको संरक्षण गर्दै यसबाट फाइदा लिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकले बताएका छन् । बिरुवा वितरण गर्दा अभिलेख राखेर गर्नुपर्नेमा जोड दिँदै उनले बिरुवाको संरक्षण भए नभएको बुझ्न समयसमयमा अनुगमन गर्नुपर्ने बताउँछन् । बिरुवा उत्पादनमा राज्यको ठूलो रकम लगानी भएकाले बिरुवा लगेर कसैले पनि दुरुपयोग नगर्न उनले अनुरोध गरे ।

बाँझो जमिनमा डालेघासँका रुपमा लगाइने राईखन्यु, निमारो पशुपालक किसानले बढी लगाउने गरेकाले अन्यको तुलनामा ती बिरुवा बढी माग भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिएका छन् । कार्यालयका अनुसार म्याग्दीमा १५ हजार, बागलुङमा १५ हजार, स्याङ्जामा १५ हजार र पर्वतमा २२ हजार बिरुवा वितरण गरिएको छ । गत वर्ष यही मौसममा ७० हजार डालेघासँका बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

डालेघाँसका बिरुवा वितरण गर्दा पशुका लागि आहार हुने, भू–क्षय न्यूनीकरण हुनुका साथै पहिरो नियन्त्रणमा सहयोग पुग्ने भएकाले हरेक वर्ष वितरण गर्दै आइएको भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख पौडेल बताउँछन् । जिल्लास्थित डिभिजन वन कार्यालयले पनि विभिन्न प्रजातिका ३० हजार बढी बिरुवा वितरण गरेको छ । वन क्षेत्रको विकाससँगै उपभोक्ताको आयआर्जनमा वृद्धि गर्न साल, सल्लो, लोठ सल्ला, सुन्तलाजन्य फलफूल, अम्बालगायत बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्लाका सातवटै स्थानीय तहले किसानको आयआर्जनमा वृद्धि गर्नका लागि ५० देखि ७० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरेका छन् । सूचना जारी गरेर किसानको मागका आधारमा सुन्तला, कागती, निबुवा, अम्बा, ओखर, नास्पाती, आँप, लिची एभोगाडो, केरालगायत उन्नत जातका फलफूलका बिरुवा वितरण गरिएको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । रासस

You might also like

Comments are closed.