नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ३ दशमलव ७९ अङ्कले बढेर २१ सय ४ दशमलव २२ को अङ्कमा कायम भएको हो ।

आज ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार १९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ बराबर पुगेको छ ।

आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै ६ दशमलव १२ र वित्त समूहको सूचक ६ दशमलव ०४ प्रतिशतले बढेको छ । बैंकिङ ० दशमलव ६३, विकास बैंक २ दशमलव ७१ र लगानी ० दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

होटल तथा पर्यटन ० दशमलव १९, जलविद्युत् ० दशमलव ६८, जीवन बीमा ० दशमलव २५, उत्पादन तथा प्रशोधन १ दशमलव ०७, लघुवित्त ० दशमलव १४, म्युचुअल फण्ड ० दशमलव ०९, निर्जीवन बीमा ० दशमलव २३ र अन्य समूह ० दशमलव ६७ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आइसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४ दशमलव ७० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको रु २३ करोड एक लाख ७७ हजार ७७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार ८१५ कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.