काठमाडौं । एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकर (Cash Recycler) सेवाको शुभारम्भ गरेको छ। यस नवीन सेवामार्फत अब ग्राहकहरूले सहजरुपमा आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने भएका छन् ।
यस सेवाअन्तर्गत बैंकमा गइ कुनै भौतिक फारम बिना ग्राहकहरूले केवल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् । यस मेसिनबाट हजार र ५ सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५ सयसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको छ ।
सहज एवं सरल बैंकिङलाई अंगाल्दै आएको एन आई सी एशिया बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले Cash Recycler मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा राख्ने बक्स खुल्नेछ ।
उक्त बक्समा आफुले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहजरुपमा मौज्दात गरिदिने र त्यसको जानकारीसमेत ग्राहकहरूले एसएमएस तथा रिसिप्टमार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।
बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
साथै, यस Cash Recycler मेसिनबाट ग्राहकहरूले दैनिकरुपमा एटिएम मेसिनबाटझै सरलरुपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।
Comments are closed.