‘नेपालको सबैभन्दा मूल्यवान प्राकृतिक सम्पदा यार्सागुम्बाको संरक्षण र प्रवर्द्वन जरुरी छ’

निराजनबहादुर चलाउने

अध्यक्ष, नेपाल यार्सागुम्बा संघ

युवा व्यवसायी निराजनबहादुर चलाउने नेपाल यार्सागुम्बा संघको अध्यक्ष भएर काम गरिरहेका छन् । यार्सागुम्बाको संरक्षण र प्रवर्द्धनका लागि उनले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । यसैक्रममा यार्सागुम्बाको उत्पादन, व्यापार, अन्तर्राष्ट्रिय बजार र सरकारी नीतिको प्रभावबारे चलाउनेसँग गरिएको संक्षिप्त कुराकानीः

अहिलेको अवस्थामा नेपालमा यार्सागुम्बाको उत्पादन र व्यापारको स्थिति कस्तो छ ?
नेपालमा यार्सागुम्बाको उत्पादन पछिल्ला वर्षहरूमा निकै कम हुँदै गएको छ । हामीले अझैसम्म यसको व्यवस्थापन गर्न सकेका छैनौं । वातावरणीय कारणहरू पनि धेरै असर पार्छन्, तर मुख्य कुरा चाहिने मलखाद, वैज्ञानिक व्यवस्थापन र संरक्षणको अभाव हो । नयाँ सम्भावनाहरू पनि देखिएका छन्, जस्तै, पाल्पामा हालै यार्सा भेटिएको छ, जुन निकै उत्कृष्ट गुणस्तरको हो । यार्सागुम्बा डाँडापाखा र हिमाली क्षेत्रमा पाइन्छ तर हामीले त्यो स्रोतलाई व्यवस्थापन गर्न सकेका छैनौं । यो नेपालकै सबैभन्दा मूल्यवान प्राकृतिक उत्पादन हो तर यसको उचित मूल्य पाउन सकेका छैनौं ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली यार्सागुम्बाको स्थिति कस्तो छ ?
नेपालको यार्सा पूर्णतया प्राकृतिक र शुद्ध छ, त्यसैले यसको माग अन्तर्राष्ट्रिय बजारमा अत्यन्तै उच्च छ । तर चीन र भारतजस्ता देशहरूले अहिले वातावरण मिलाएर वंशाणुगत प्रविधिबाट कृत्रिम यार्सा उत्पादन गरिरहेका छन् र ठूलो निर्यातकर्ताका रूपमा अघि बढिसकेका छन् । हामीसँग प्राकृतिक वरदान छ, तर व्यवस्थापनको कमीले गर्दा त्यसको फाइदा उठाउन सकिरहेका छैनौं । यो निकै दुःखद अवस्था हो ।

अहिले नेपाली बजारमा यार्सागुम्बाको स्थिति कस्तो देखिन्छ ?
नेपालमै यार्सागुम्बाको प्रयोगबाट औषधीहरू पनि बनाइन्छन् तर प्रमुख बजार भने अन्तर्राष्ट्रिय नै हो । सरकारले सिधै ठूलो मात्रामा वैदेशिक मुद्रा ल्याउन नपाउने नीति बनाएको छ, जसले यसको निर्यात र व्यापारमा ठूलो असर गरेको छ । यो नीति हेरफेर गर्नु जरुरी छ । यदि हामीले राम्रोसँग व्यवस्थापन गर्न सक्यौं भने यार्सा नेपालको अर्थतन्त्रको प्रमुख आधार बन्न सक्छ ।

उत्पादन र निर्यातमा वर्तमान समस्या के छन् ?
उत्पादन क्षमतामा गिरावट आएको छ । बजारमा हामी सानो सञ्जालमै अलमलिएका छौं । जसको परिणाम न संकलनकर्ताले उचित मूल्य पाएका छन् न व्यवसायीले मुनाफा कमाउन सकेका छन् न सरकारले राजस्व उठाउन सकेको छ । सरकारले सहजीकरण ग¥यो भने सबैलाई फाइदा पुग्छ ।

यार्सागुम्बको प्रवर्द्धनका लागि अब सरकारले के गर्नुपर्छ ?
सरकारले यार्सागुम्बा पाइने सम्भावित क्षेत्रहरूमा एक्सरे अध्ययन गर्नुपर्छ । माटो, जमिन, र वातावरणको परीक्षण गरेर वैज्ञानिक रूपमा अनुसन्धान गर्नुपर्छ। परीक्षण प्रयोगशालाहरू (ल्याब) निर्माण गर्नुपर्छ, चिस्यान केन्द्र बनाउने व्यवस्था मिलाउनुपर्छ, जसले गर्दा संकलित यार्सा बिग्रन नपाओस् । यसमा ढुसी लागेपछि यसको उपयोग हुँदैन । निर्यातसम्म सुरक्षित राख्ने संरचना विकास गर्नुपर्छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?
यार्सागुम्बा नेपालको अमूल्य सम्पदा हो, तर त्यसको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमा सरकार असफल भइरहेको छ । वैज्ञानिक अध्ययन, नीति सुधार र निर्यात सहजता जस्ता उपायहरूमार्फत यार्साको व्यापारमा क्रान्ति ल्याउन सकिन्छ । जसले नेपाललाई आर्थिक समृद्धितर्फ डोहोर्याउन मद्दत गर्नेछ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.