कार्यभार सम्हाल्दै एनएमबि बैंकका सीईओ घिमिरे

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध रहेका छन् ।

बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्वमा रहेर कार्यानुभव हासिल गरेका घिमिरे यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान पुर्याएका छन् । उनको योगदानहरू बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यमा विशेष रूपले महत्वपूर्ण रहँदै आएका छन् ।

उनले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएका छन् । उनको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।

नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक सञ्चालक समिति तथा व्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहाय बमोजिमको धारणा व्यक्त गरेका छन् ।

“मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ, डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं” उनले भने ।

साथै, आजैका मितिबाट लागु हुने गरी बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । स्वदेशी तथा विदेशी बैंकमा कार्य अनुभव प्राप्त गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ व्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।

उनीहरुको नियुक्तिसँगै एनएमबि बैंकले अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागत गर्दै ‘समृद्ध नेपाल’ को उद्देश्यतर्फ कदम अगाडी बढाएकोे छ ।

 

 

You might also like

Comments are closed.