एनएमबि बैंकले ४ अर्बभन्दा बढीको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत-२०८९/२०९०’ नामको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले १० वर्ष अवधिको वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो ।प्रतिकित्ता रू १ हजार मूल्य अंकित दरको रू ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र बैंकले निष्काशन गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने र बाँकी ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।

यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्ताका देखि अधिकतम १६ लाख कित्तासम्म माग गर्न सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरि सकिएको छ । सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा विक्रीमा आउन लागेको हो ।

निश्चित व्याजदर र अवधि तोकेर जारी गरिएको यो ऋणपत्र खरीदकर्ताहरूका लागि तोकिएको ब्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।

यो ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रटिङ ए प्रदान गरेको छ ।

You might also like

Comments are closed.