आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी मुलुकको आजको आवश्यकता :  मन्त्री साउद

काठमाडाै । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताए ।

बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा  आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने नभइ आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी मुलुकको आजको आवश्यकता भएको उल्लेख गरे ।

बानेश्वर क्याम्पसबाट उत्पादित जनशक्तिले समाजमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउँदै मन्त्री साउदले भने , “अहिले नेपालमा युवा जनसङ्ख्या सबैभन्दा धेरै छ, यो जनशक्तिलाई मुलुकको आवश्यकताअनुसार प्रशिक्षित गरी समृद्धिमा उपयोग गर्न सके मुलुकलाई दीर्घकालीन लाभ हुनेछ ।”

हाल रोजगारी र अध्ययनका लागि युवा विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले युवा वर्गलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी मुलुकको समृद्धिमा लगाउन सरकार प्रयत्नशील रहेको बताए ।

कार्यक्रममा हरिबोल भट्टराई, क्याम्पस प्रमुख डा घमनसिंह खड्कालगायतले क्याम्पसको शैक्षिक गतिविधि बारेमा अवगत गराउँदै क्याम्पसको आगामी शैक्षिक योजनाका बारेमा प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा दर्जनाैं प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

बानेश्वर बहुमुखी क्याम्पस २०४७ सालमा समाजसेवी, बुद्धिजीवी र ख्यातिप्राप्त शिक्षाविद्हरूको समूहले स्थापना गरेको हो । करिब तीन हजार विद्यार्थी रहेको यो क्याम्पस शिक्षक र समुदायद्वारा सञ्चालित गैर(नाफा कमाउने सार्वजनिक क्याम्पस हो ।

You might also like

Comments are closed.