काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।
चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा २ चौका र १ छक्का प्रहार गरे । यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११ रन बनाए ।बलिङतर्फ काठमाडौं गुर्खाजका लागि शाहब आलमले ३ तथा गेहार्ड इरास्मस र डान डाउथवेटले १/१ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै १११ रन बनायो । काठमाडौंका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे । त्यस्तै माइकल लेभिटले १६ बलमा ४ चौका र १ छक्का हान्दै २५ रन बनाए । डान डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाए ।
बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले ५ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए । यस्तै रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले १/१ विकेट लिए । केहीबेरमा अर्को खेल जनकपुर वोल्ट्स र कर्णाली याक्सबीच सुरु हुँदैछ ।
Comments are closed.