राष्ट्र बैंकले सात अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैकले सात अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार माघ २४ गते मंगलबार पाँँच वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘ञ’ (५ वर्षे) बिक्री गर्न लागिएको हो।

ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंगलबार दिउँसो तीन बजेसम्म आवेदन दिनुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार निष्काशन मिति २०७९ माघ २५ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति २०८४ माघ २५ तोकिएको छ। खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाइने छ। राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्नेछ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ। बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् पाँच अर्ब ९५ करोड र एक अर्ब पाँच करोड छुट्ट्याइएको छ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।

खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

You might also like

Comments are closed.