नेपाल दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ २० गतेको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ २३ गतेको च.नं. संस्थान ४६० (ख) को नियुक्ति पत्रबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा ४ वर्षको पदावधि रहने गरी नियुक्त गरिएको छ ।

यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ गतेको निर्णय (मा. मन्त्रीस्तर) बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमिक्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् ।

उनले २०४९ चैत २३ गतेबाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएर काम गरिन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी हुन् ।

पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै, पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गरिन् ।

You might also like

Comments are closed.