बुधबार बिहान अवरुद्ध नेपाल टेलिकमको सेवा २ घण्टामै सुचारु

 

काठमाडौं । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा बुधबार बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको छ । सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा सुचारु गरिएको टेलिकमले जनाएको छ ।

सो अवधिमा जिएसएम मोबाइलको  2G, 3G  र  4G प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको VoLTE (Voice Over LTE)मा समस्या नआएको र GSM मोबाइलका केही  Feature Phone साना non-smart phone मा समस्या नदेखिएको जानकारी प्राप्त भएको बताइएको छ । मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्स (Preventive Maintenance)का कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने विश्वास दिलाउन चाहन्छौं । कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए तापनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकलाई पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ, विज्ञप्तीमा भनिएको छ ।

You might also like

Comments are closed.