नेपाल टेलिकमको एपमा सुविधाहरु अपडेट, अब ‘नमस्ते पे’ बाट पनि रिचार्ज गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमको एपमा सेवाग्राहीहरुका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको छ । नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्जसमेत गर्न सकिने भएको छ ।

त्यसैगरी आफ्नो जानकारी केवाइसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन् । यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने छ । फाइबर टु द होम अर्थात् एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सिपिई (CPE) रिस्टार्ट गर्न, वाईफाईको एसएसआईडी (SSID) परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महशुल तिर्न सकिनेछ । नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ ।

नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु Update User KYC मार्फत नवीकरण गर्न सकिने छ । त्यसैगरी डिलरहरुले एमपोस (MpoS) समेत लगइन गर्न सकिने छ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई समय-समयमा परिमार्जन गरी सेवाग्राहीहरुको लागि उपयोगी विशेषताहरु थप गर्दै नयाँरुपमा प्रस्तुत गर्ने गरेको छ ।

एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएचलगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिन्छ ।

त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्था वारेमा सहजरुपमा जानकारी प्राप्त गर्न सकिन्छ । यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहार (Gift Packs) को रुपमा पठाउन सकिन्छ ।

त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिस (VAS) को प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरुमा समस्या आएमा गुनासा (Complain) टिपाउन र विभिन्न सेवाहरुको बिल तिर्न पनि सकिन्छ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महशुल दरबारे जानकारी लिन पनि सकिन्छ ।

यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ ।

You might also like

Comments are closed.