पोखरा । नेपाली विद्यार्थीलाई टुरिजम र होटल म्यानेजम्यान्टको क्षेत्रमा शिक्षा प्रदान गर्ने अभिप्रायका साथ स्थापना गरिएको हो नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज । होटल म्यानेजमेन्टका क्षेत्रमा नेपालमा नै पहिलो पटक यो कलेज स्थापना भएको हो ।
पोखरा विश्वविद्यालयबाट सम्वन्धन लिएर सन् १९९९मा पोखराको छिनेडाडाँमा स्थापना भएको हो । उद्यमी, व्यवसायी, बैंकर, डाक्टर, इन्जिनियर लगायतका १२० जनाभन्दा धेरै संस्थापकहरुको संयुक्त प्रयासमा कलेजको शुरुवात भएको हो । पोखरामा कलेज स्थापना भएपछि होटल म्यानेजमेन्ट अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता हटेको छ । कलेज नाफामुखी भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।
२२ रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा ५० हजार बर्गकिलोमिटरमा आफ्नै पक्की भवन छ । प्रयोगात्मक ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, सभाहल, वास्केटवल कोर्ट, भलिवल कोर्ट, सुविधा सम्पन्न रेष्टुरेन्ट लगायतका भौतिक संरचनाहरु कलेजमा छन् ।
कलेजले सैद्धान्तिकसँगै प्रयोगात्मक सिकाइलाई उच्च प्राथमिकतामा राखेको छ जसका कारण अध्ययनपश्चा विद्यार्थीलाई काम गर्न सहज हुने गरेको छ ।नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराबाट हालसम्म हजार भन्दा बढी विद्यार्थीले व्याचलर अफ होटल म्यानेजमेन्ट कोर्ष उत्तीर्ण गरेका छन् ।
कलेजमा अध्ययन पश्चात विद्यार्थीहरु पोखरा, काठमाडौंसहित देशका मुख्य सहर लगायत विदेशमा समेत रोजगारमा जाने गरेका छन् । कलेजमा अध्ययन गरेका विद्यार्थीहरु अमेरिका, बेलायत, जर्मनी, नेदरल्याण्ड, स्पेन, जापान, हङकङ, सिङगापुर, अष्ट्रेलिया, भारत लगायतका देशहरुमा कार्यरत रहेको बताउँछन् प्रिन्सिपल प्रकाश रेग्मी ।
कलेजबाट उत्तीर्ण प्रायः सबै विद्यार्थी विभिन्न देशमा रोजगारीमा लागिरहेको उनले बताए । ‘नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरामा खुल्यो । हस्पिटालिटी क्षेत्रका लागि यो निकै ठूलो उपलब्धी साबित भएको छ,’ रेग्मी भन्छन् ।
पोखरालाई शैक्षिक नगरीको रुपमा स्थापना गराउन तथा पोखरामा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यले पोखराका उद्यमीहरुको संयुक्त लगानीमा कलेज स्थापना भएको बताउँछन् अध्यक्ष अशोक पालिखे ।
प्राक्टिकलका लागि फाइभ स्टार होटल स्तरको रुम कलेजमा छन् । पूर्वी नेपालदेखि सुदुरपश्चिम सम्मका विद्यार्थीहरु कलेजमा अध्ययनका लागि आउँछन् । कलेजले विद्यार्थीको आत्मविश्वास बढाउन तथा व्यवहारिक ज्ञान हासिल गराउन भारत, मलेसिया दुवई लगायतका देशमा अध्ययन तथा अवलोकन भ्रमणमा लैजाने गरेको अध्यक्ष पालिखेले जानकारी दिए ।
कलेजले प्लस टुुमा होटल म्यानेजमेन्टसहित बिएचएम, बीबीए र बीबीएबीआईका कक्षा सञ्चालन गर्दै आएको छ । पोखरामा रहेका बैंकिङ संघसंस्थाहरुको माग पुरा गर्न बीबीए र बीबीएबीआईका कक्षा सञ्चालन गरिएको रेग्मीले बताए ।
विद्यार्थीको आवश्यकता हेरी कलेजले छात्रवृत्ति प्रदान गरिरहेको छ । उच्च माध्यमिक शिक्षा परिषदबाट दुई र पोखरा विश्वबिद्यालयबाट ४ जनालाई निःशुल्क छात्राबृत्ति प्रदान गरिरहेको छ । हरेक सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई समेत छात्रबृत्ति प्रदान गरिने रेग्मीले जानकारी दिए । समय–समयमा नेदरल्याण्ड, स्वीजरल्याण्ड, अमेरिका लगायतका देशबाट तालिम प्राप्त प्रशिक्षकहरुले कलेजका शिक्षक तथा विद्यार्थीहरुलाई तालिम दिने गरेका छन् । कलेजमा सय जना प्रध्यापक तथा कर्मचारी कार्यरत छन् ।
यसैबीच, कलेजले मास्टर्स अफ होटल म्यानेजमेन्ट र ईएमबिए वा एमबिए सञ्चालनको तयारी गरिरहेको छ । कोर्ष ड्राफ्ट भइरहेको छ ।
व्याचलर गरेका विद्यार्थीलाई त्यसपछिको शिक्षा पोखरामा नै उपलब्ध गराउने आफूहरुको लक्ष्य रहेको रेग्मीले बताए । थोरै लगानीमा आफ्नै ठाउँमा स्तरीय शिक्षा प्रदान गरिने उनले बताए । ‘पहिलो होटल म्यानेजमेन्ट कलेज हरेक हिसाबमा पहिलो नै बन्न सफल छ,’ पालिखेले भने, ‘गुणस्तरीय शिक्षाबाट विद्यार्थीको विश्वास जित्नु नै हाम्रो सफलता हो ।’ नेपालमा स्टार होटल र पर्यटनस्तरका होटलहरु प्रशस्त थपिएका र थपिने क्रममा रहेकाले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई धेरै अवसर रहेको प्रिन्सिपल रेग्मी बताउँछन् ।
Comments are closed.