ऋणात्मक अर्थतन्त्र उकासेर देशलाई अघि बढाउनुपर्छ : ओली

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ज्वलन्त समस्याको सकारात्मक समाधान खोजेर मुलुकलाई अगाडि बढाउनुपर्ने उत्तरदायित्व प्रतिनिधिसभाको काँधमा आएको बताएका छन् ।

निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उनले देशको राजस्व संकलन घटेकाले अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेकाले अर्थतन्त्रसम्बन्धी समस्यालाई समाधान गरेर जानुपर्ने बताएका हुन् ।

“आज अर्थतन्त्र गम्भीर अवस्थामा छ । राजस्व उपयुक्त ढले उठिरहेको छैन । धेरै वर्षपछि राजस्व ऋणात्मक भएको छ । वैदेशिक मुद्राको सञ्चिति घटेको तथा निर्यात घटेर आयात बढेको छ”, अध्यक्ष ओलीले भने, “महँगी बढेर जनजीवन कष्टकर बनिरहेका अवस्थामा निर्वाचनपछि प्रतिनिधिसभा सुरु भएको छ, यी सबै समस्याको सकारात्मक समाधान खोजेर देशलाई अघि बढाउनुपर्छ ।”

वर्तमान सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको जानकारी दिँदै उनले भने, “सरकारलाई बधाई दिन्छु र चुनौती छन् भन्ने स्मरण गराउन पनि चाहन्छु ।”

You might also like

Comments are closed.