जनक श्रेष्ठ, लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक पाँच लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका बेँसीशहर नगरपालिका– ११ साविक चिती–२ स्याउत गाउँका रमेशराज पन्तको सुन्तला बचैँचाबाट विगतमा वार्षिक चार लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन्थ्यो तर रोगले सुन्तला बचैँचा मासिँदै जादा केही वर्षदेखि वार्षिक ४०/५० हजार रुपैयाँ मात्र आम्दानी हुन थालेको उनको गुनासो थियो । यसवर्ष पनि सोही हाराहारीमा आम्दानी भयो । कृषक पन्तले भने, “धेरै स्याहार सुसार र मलजल गरेर मुस्किलले २५/३० वटा बोट जोगाइएकाले अहिलेसम्म आम्दानी लिइरहे पनि बगैँचा भने मासिने क्रममा छ ।
पन्तको भन्दा फरक छैन सुरेशबाबु पाण्डेको पीडा पनि । सोही गाउँका सुन्तला किसान पाण्डेले केही वर्षदेखि सुन्तलाको बोटले फल दिन छाडेको बताए । सोह्र÷सत्र वर्षअघिबाट करिब ४ सय रोपनीमा तीन सयभन्दा बढी बोटले फल दिँदै आएको र यसबाट बर्सेनि तीन लाख रुपैयाँ देखि चार लाख रुपैयाँसम्म आम्दानी हुने गरे पनि केही वर्षदेखि भने ती सुन्तलाका बोट मर्दै जाँदा यतिबेला सबै बोट रोगले सखाप भइसकेको छ । उनले भने, “अहिले त परिवारले खाने पनि सुन्तला छैन ।” अर्का किसान कृष्णप्रसाद पन्तले भने, “गाउँभरिबाट बर्सेनि दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री हुन्थ्योे र त्यस रकमबाट यहाँका बासिन्दाको जीवनयापनमा ठूलो सहयोग पुगेको थियो तर अहिले गाउँभरिबाट १५/१६ लाख रुपैयाँ आम्दानी पनि मुस्किलले भएको छ ।’’
गाउँमा रहेका करिब ८० घरधुरले नै विगत लामो समयदेखि सुन्तला लगाउँदै आए पनि सुन्तलाको बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको छ । तेह्र वर्षको अन्तरालमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात सुक्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने र कम फल्नेजस्ता समस्या किसानले झेल्दै आएका थिए तर समस्या समाधान गर्न नसक्दा गाउँभरिका सुन्तला बगँैचा सखाप भइसकेको अर्का किसान उत्तमराज पाण्डेको भनाइ थियो ।
कत्ले कीरा, पँतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाईन(उत्पादनमा ह्रास हुने रोग) र ग्रिनिङ भाइरसजस्ता रोग लागे पनि गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपु¥याएकाले सुन्तला बगैँचा मासिँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए ।
साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत साविक चितीको स्याउत गाउँ बाहेक करापुटारको बेतिनी, तार्कुको गहते, भोर्लेटारको लामासोती, भोटेओडार, उदीपुरको घिमिरे गाउँलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा पनि मासिँदै हो । लमजुङमा उत्पादन भएका सुन्तला काठमाडौं, पोखरा, चितवनलगायत सहरमा राम्रो खपत हुँदै आएको थियो तर सुन्तला उत्पादनमा कमी हुँदै जाँदा जिल्लामै पनि पु¥याउनका लागि मुस्किल हुन थालेको सम्बद्ध किसानको भनाइ थियो । जिल्लामा एक हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा घट्दै गएर ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै थियो ।
गतवर्ष ३ सय २ हेक्टर जमिनमा सुन्तला लगाइएकामा २ सय १३ हेक्टर जमिनमा सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । यसवर्ष २ सय २५ हेक्टर जमिनमा सुन्तला लगाइएकामा १ सय ८० हेक्टर जमिनमा मात्र उत्पादन भएको केन्द्र प्रमुख खतिवडाले बताए । आर्थिक वर्ष २०७७/७८ मा एक हजार ४ सय २४ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस आर्थिक वर्ष एक हजार २ सय ४० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।
Comments are closed.