डोटी । डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन्। जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् ।
सुन्तला सरदर प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री भइरहेको किसानले बताएका छन्। जिल्लाभित्र तथा जिल्ला बाहिरका व्यापारी कृषकको बारीसम्म सुन्तला खरिद गर्न आउने गरेका कारण बजारको समस्या नभएको जोरायल गाउँपालिका–६ का वडाध्यक्ष गणेश बोहराले बताए।
“जोरायलबाट मात्र यस वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको छ”, उनले भने। गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए। जिल्लामा गत आवमा २८५ हेक्टरमा दुई हजार पाँच सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। यस वर्ष तीन सय १३ हेक्टरमा गरिएको खेतीबाट तीन हजार मेट्रिकटन सुन्तला उत्पादन भएको उनले बताए।
जेरायल गाउँपालिका–१ को निरौली, बडीकेदार गाउँपालिकाको पातल, मुडा, रजेडा, छेडा, टिमिट्ट लाना, खेतालीलगायतका स्थानमा सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको छ। बडीकेदार गाउँपालिका–१ पातलबाट करिब ५० लाख बराबरको सुन्तला बिक्री भएको समैजी कृषि समूहका अध्यक्ष टेकबहादुर क्षेडालले बताए। यसपाली प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री भएको छ ।
सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेतीमा किसानको आकर्षण बढ्न थालेको छ। सुन्तला बिक्रीबाट यस वर्ष रु १० लाखसम्म आम्दानी भएको बडीकेदार–४ का चक्र जेठराले बताए ।
Comments are closed.