काठमाडौं । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार हेमबहादुर प्रधानको स्मृतिमा छोरा रवीन्द्र प्रधानले अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग गरेका छन् । बुबाको निधनको १३औं दिनको पुण्यतिथिको अवसरमा शुक्रबार उनले पोखरामा निर्माण हुन लागेको अक्सिजन प्लान्टका लागि ५ लाख आर्थिक सहयोग गरे ।
अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक तथा बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासलाई उनले सहयोग हस्तान्तरण गरेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा अक्सिजन प्लान्ट निर्माण हुँदैछ ।
१९९४ साल भदौ १७ गते पर्वतको पाङमा जन्मिएका प्रधान पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्य, २०२३ सालमा कार्यसमिति सदस्य, २०२५–२०२७ मा सचिव, २०२९–२०३४ मा उपाध्यक्ष हुँदै २०३५ देखि २०४१ सालसम्म अध्यक्ष भएर काम गरेका थिए ।
संघका विभिन्न पद तथा अध्यक्ष रहँदा उनले संघको गरिमा उकास्न तथा निजी क्षेत्रको हक÷हितको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालीन पोखरा व्यापार संघलाई पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण गर्न तथा क्षेत्रीय उद्योग वाणिज्य संघको स्थापनामा उनको योगदान छ ।
पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै उनले नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य तथा २०४४ सालमा उपाध्यक्ष रहेका थिए । २०१९ सालमा पर्वतबाट पोखरा आएका प्रधानले सुरुमा कपडा व्यवसाय गरे भने २०३३ सालमा पोखरा औद्योगिक क्षेत्रमा शिवशंकर बिस्कुट उद्योग, विन्दुवासिनी चलचित्र मन्दिर प्रालिसमेत संचालन गरेका थिए ।
सफल उद्योगीको परिचय बनाएका प्रधान जीवनको उत्तरार्धमा भने धार्मिक र सामजिक क्षेत्रमा क्रियाशील थिए । नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष, २१ वर्ष विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अध्यक्षसहित विभिन्न संघ/संस्थामा आवद्ध प्रधानले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले संचालन गर्ने गरी हेम देवी धर्म संस्कृति तथा समाज सेवा कोष एवं विभिन्न संघ/संस्थाको लागि पनि अक्षण कोष स्थापनामा सघाएका थिए ।
सफल उद्योगी/समाजसेवी तथा आध्यात्मिक व्यक्तित्वको रुपमा स्वर्गीय प्रधानको नाम स्मरणीय छ । स्वर्गीय प्रधानका ५ छोरी र एक छोरा छन् । पवित्र उद्देश्यसहित पोखरामा निर्माण हुन लागेको अक्सिजन प्लान्टका लागि स्वर्गीय प्रधानको स्मृतिमा परिवारबाट आर्थिक सहयोग प्रदान भएकोमा निर्माण समिति संयोजक बतासले आभार व्यक्त गरेका छन् ।
Comments are closed.