मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

हेटौँडा । मकवानपुरमा यसवर्ष ४६ हजार ६ सय ७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो ।

गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६ सय ७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिए । उनको अनुसार यस वर्ष दुई हजार २ सय ५७ मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा यसवर्ष ३।७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३।७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । उनले आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाइएको छ ।

जिल्लामा कूल १३ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनको भनाइ छ । उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १ सय ९० मेट्रिकटन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले तीन हजार ५ सय १३ मेट्रिकटन धान क्षति भएको सूचना अधिकारी पुनले बताए । जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ ।

जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ । त्यहाँ तीन हजार ९ २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ । हेटौँडा उपमहानगरपालिकामा दुई हजार, थाहा नगरपालिकामा २ सय, बागमतीमा दुई हजार ७ सय, बकैयामा एक हजार ७ सय, मकवानपुरगढीमा एक हजार ४ सय, कैलाशमा एक हजार १ सय, भिमफेदीमा २ सय, राक्सिराङमा १ सय ५० र इन्द्रसरोबर गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केन्द्रले जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.