धान उत्पादन बढ्यो

कलैया । यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ ।

समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९ सय १४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३ सय ५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो ।

कृषि ज्ञानकेन्द्र बाराका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ६२ हजार ७ सय ४१ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ ।

अघिल्लो वर्ष दुई लाख ५६ हजार ३ सय ८९ दशमलव २५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो गत वर्षको तुलनामा छ हजार ३ सय ५२ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।

चालु आर्थिक वर्षमा उत्पादन भएको धानमध्ये अगहनी एक लाख ४१ हजार ५ सय ७७ दशमलव २५ मेट्रिक टन, भदैया ५१ हजार १ सय ९१ दशमलव पाँच मेट्रिक टन र चैते धान ६९ हजार ९ सय ७२ दशमलव पाँच मेट्रिक टन उत्पादन भएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा अगहनी ३४ हजार १ सय १२ हेक्टर, भदैया ११ हजार ९ सय ५ हेक्टर र चैते १५ हजार १ सय ५ गरि कूल ६१ हजार १ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

गत आर्थिक वर्षमा अगहनी एक लाख ४५ हजार २ सय १ दशमलव २५ मेट्रिक टन, भदैया ५४ हजार ८ सय ८२ दशमलव छ मेट्रिक टन र चैते धान ५३ हजार ३ सय ६ मेट्रिक टन उत्पादन भएको थियो । यसका लागि अगहनी १४ हजार १ सय ६५ हेक्टर, भदैया ११ हजार ९ सय ३१ हेक्टर र चैते १२ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा लगाएको केन्द्रका कृषि विज्ञ मण्डलले जानकारी दिए ।

बारामा कूल ६९ हजार ९ सय ६३ हेक्टर कृषियोग्य जमिन रहेको छ । तीमध्ये चुरेपहाडतर्फ ९ सय ९५, तराईतर्फ ६१ हजार ८ सय १८ गरि कूल ६२ हजार ८ सय २३ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तीमध्ये सात हजार १ सय ४० हेक्टर जमिन बाँझो रहेको छ भने वर्षैभरी सिञ्चित हुने ३३ हजार १ सय ३२ र आंशिक सिञ्चित हुने २९ हजार ६ सय ९१ हेक्टर क्षेत्रफल रहेको केन्द्रले जनाएको छ ।

You might also like

Comments are closed.