धान उत्पादनमा वृद्धि

लमजुङ । लमजुङमा धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीका अनुसार यसवर्ष १४ हजार २ सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७ सय ७६ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष १४ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीबाट ४४ हजार ४ सय २५ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष २० हेक्टर क्षेत्रफल कम जमिनमा धानखेती गरिए पनि ३ सय ५१ मेट्रिकटन उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी रेग्मीको भनाइ छ । यसवर्ष धान उत्पादनमा वृद्धि भएपछि जिल्लाका किसान हर्षित भएका छन् । मौसम राम्रो भएको र समयमै पानी भएकाले उत्पादन राम्रो भएको उनको भनाइ छ ।

त्यस्तै, केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा १४ हजार २ सय ३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १ सय ५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा १४ हजार ७ सय ९१ हेक्टर क्षेक्रफलमा गरिएको धान खेतीबाट ४४ हजार ५ सय ४५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १४ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८ सय ३० मेट्रिकटन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा १५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ४० हजार ५ सय ७८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी जिल्लाकै ठूला फाँट भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलँैचेफाँट रामचोकबेँसीलगायतका क्षेत्रमा धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी रेग्मीले भने, जिल्लामा साबीत्री, रामधान, सुक्खा १, सुक्खा २, सुक्खा ३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धान किसानले लगाउँदै आएका छन् ।

किसानले पानी कम हुने ठाउँमा भने सुक्खा १, सुक्खा २, सुक्खा ३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेक्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर क्षेक्रफलमा धानखेती हुने गरेको उनको भनाइ छ ।

You might also like

Comments are closed.