सराङ्कोट पहिरोमा पुरिएर ५ जनाको मृत्यू, हेमजामा १ को ज्यान गयो

 

पोखरा ।

पोखराको सराङ्कोटमा पहिरो जाँदा ५ जनाको ज्यान गएको छ । अविरल वर्षापछि गएराती आएको पहिरोले घर पुरिदा अन्य ६ जना घाइते भएका छन् ।

jutta mela

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङ्कोटस्थित गोठादीमा राती करीब साढे २ बजे आएको पहिरोले स्थानिय टंकबहादुर थापाको घर पुरिदा ५ जनाको ज्यान गएको वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए । अहिलेसम्म ५ जनाको शव निकालिसकिएको छ,‘उनले भने,‘अन्यको खोजी भइरहेको छ ।’ उनका अनुसार घरधनी थापा दम्पतीको शव भेटिएको छ ।

पहिरोमा पुरिएर ६ जना घाइते भएका छन् ।  पहिरोले पुरिएर घाइते भएका उनीहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याइएको छ । घाइते मध्ये ४ जनालाई मणिपाल शिक्षण अस्पताल र २ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरिक्षक सुवास हमालले जानकारी दिए ।

जन्मदिन मनाउने क्रममा पाहुनापनि आएकाले पहिरोले पुरिएको घरमा कति संख्यामा मान्छे थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । पहिरो हटाएर थपको खोजी भइरहेको प्रवक्ता हमालले बताए । उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ ।

यसैबीच, पोखरा–२५ हेमजामापनि गएराती पहिरो जाँदा १ बृद्धाको ज्यान गएको छ । हेमजास्थित शरदचन्द्र अधिकारीको घर राती करिव ३ बजे आएको पहिरोले पुरिदा अधिकारीका आमा हिमकली अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । बृद्धा आमालाई घरमा छाडेर अधिकारी दम्पती छिमेकीकोमा बास बस्न गएकाले उनीहरु भने ज्यान जानबाट जोगिएका छन् । पहिरोले ३ वटा बाख्रासमेत पुरेको प्रहरीले बताएको छ ।

त्यस्तै, पोखरा १७ छोरेपाटन सिमलटुँडामा पनि पहिरोले घर पुरिदा ३ जना घाइते भएका छन् । राती आएको पहिरोले स्थानिय चन्द्रबहादुर मगरको घर पुरिदा उनकी श्रीमती शान्ति मगर र छोरा सुशन मगर घाइते भएका हुन् । उनीहरुको विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

अविरल वर्षापछि आएको बाढीले रामघाट क्षेत्र भने डुबानमा परेको छ । रामघाट क्षेत्र डुबानमा परेपछि स्थानिय सुकुम्बासी बस्तीलाई राती नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.