पोखराको न्यूरोडमा खुल्दै ‘पाल्पा हाउस’

पोखरा । पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ निर्माण गरिएको छ । करिब डेढ करोडको लागतमा रानीमहल स्वरुपमा निर्मित दुईतले भवन निर्माण पूरा भएको हो । १० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसको आन्तरिक सजावटमा अझै कम्तीमा एक करोड लाग्ने अनुमान छ ।

पाल्पाली चिनारीहरु ढाका, करुवालगायत कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउने उद्देश्यले पाल्पा हाउस संचालनमा ल्याउन लागिएको हो । कम्पनी अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाली उत्पादनहरु अब यहाँबाट एकैथलोमा उचित मूल्यमा उपलब्ध गराइने बताए ।

यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने उनको विश्वास छ । नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका लागि पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले पहल थालेकाका हुन् ।

पाल्पा हाउस सम्भवत आगामी माघ पहिलो सातादेखि औपचारिक संचालन गर्ने लक्ष्य रहेको समाजका पूर्व अध्यक्षसमेत रहेका कम्पनी अध्यक्ष घिमिरेले बताए । समाजका अध्यक्ष रेशम थापाले आर्थिक गतिविधिसँगै पर्यटनमा यसले विशेष महत्व राख्ने बताए ।

पाल्पाली समाज पोखराले बिस्तारै बृहत् रुप लिंदै गएको उनको भनाइ छ । साथै पाल्पा हाउस सँगसँगै पाल्पाली कोलोनी पनि छिट्टै संचालनमा ल्याउने थापाले बताए । न्यूरोडस्थित भाटभटेनी सुपरस्टोर आडैमा रहेको पाल्पा हाउसमा ७० जना सेयर सदस्य छन् ।

यहाँ १७ ओटा सटरमध्ये ९ ओटा बुकिङ भइसकेको संचालकमध्येका एक जगदीश गौतमले बताए । पाल्पाली ढाका, करुवा, तरकारी, फलफूलका अलावा पाल्पाली स्वाद हाँसको छोइला, मिसमास, चुकाउनी, बटुक समेत यहाँ संचालन हुने रेष्टुरेन्टका परिकार हुने छन् ।

lcci
You might also like

Comments are closed.