पाल्पाली सहकारीको सेयर पुँजी पौने ३ करोड

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न सहकारीको वार्षिक साधारण सभामा अध्यक्ष चिरञ्जीवी श्रेष्ठले आर्थिक वर्ष २०७८÷०७९ सम्ममा सहकारीको कुल निक्षप घटेको जानकारी दिएका छन् ।

सहकारी संस्थाको सेयर पुँजी २ करोड ८८ लाख २६ हजार ८ सय १ पुगेको छ । सहकारीको गत आर्थिक वर्षको सेयर पुँजी १ करोड ५५ लाख १३ हजार रहेको थियो । गत आवमा १ करोड ४८ लाख ९० हजार ३ सय ७२ निक्षेप रहेकोमा अहिले सहकारीको निक्षेप १ करोड २२ लाख ९९ हजार ४ सय १० कायम भएको छ । यस आवमा सहकारीको कर्जा प्रवाह ३ करोड १२ लाख २७ हजार २ सय ७५ पुगेको छ । सहकारीले आव २०७७÷०७८ मा सहकारीको कर्जा प्रवाह १ करोड ६८ लाख ४३ हजार ८ सय ३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको कार्य प्रगति र आगामी कार्ययोजना, कोषाध्यक्ष उमा सापकोटाले प्रस्तुत गरेको वार्षिक आयसहितको आर्थिक प्रतिवेदन र लेखा सुपरिपेक्षण समितिका संयोजक नारायणप्रसाद पौडेलले पेस गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादु्र बुढाले सेयर पुँजी, निक्षेप संकलन, कर्जा प्रवाह अवस्था हेर्दा सहकारी ठिक ठाउँमा रहेको बताएका छन् । उनले खासगरी पाल्पा मूलघर भई पोखरामा बसेर पेसा व्यवसाय गर्नेले खोलेको सहकारीलाई कार्यक्षेत्र विस्तार र दायरा फराकिलो बनाउन सुझाव दिए ।

त्यस्तै, पोखरा महानगरपालिका सहकारी विभागका दर्ता अधिकारी भरतराज पौडेलले व्यक्ति व्यक्तिको सहकार्यले मानव सभ्यताको विकास भएको बताए । जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक बास्तोलाले सेयर पुँजी र निक्षेप संकलनलाई सन्तुलन कायम गर्न सुझाव दिए ।

कार्यक्रममा रेसुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भानुभक्त भण्डारी, भृकुटी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष जयराम अधिकारी, पाल्पाली बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, सञ्चालक समिति उपाध्यक्ष बाबुराम खनाल, सचिव रेशमराज थापा, शिक्षा समिति संयोजक बालचन्द्र परियारलगायतले बोलेका थिए ।

कार्यक्रममा उत्कृष्ट सेयर सदस्य नन्दा श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै, सेयर सदस्यका छोराछोरीमध्ये एसईईमा उत्तीर्ण वीरेन्द्र श्रेष्ठ, तिर्सना थापा, प्रसुनमान बुद्धाचार्य, आयुषमान कर्माचार्य, आयुष लम्साल, आदित्य अधिकारीलाई सम्मान गरिएको थियो भने सहकारीले आयोजना गरेका विभिन्न कार्यक्रमका संयोजकलाई मायाको चिनो प्रदान गरियो । २०७६ असार १३ मा पोखरा महानगर सहकारी विभागमा दर्ता भएको सहकारीले पोखरा वडा १ देखि १७ सम्म कार्यक्षेत्र विस्तार गरेको छ ।

 

lcci
You might also like

Comments are closed.