पालुङ खोला र तमोर-५ जलविद्युत परियोजनालाई लगानी जुट्यो, ६ वटा बैंकले लगानी गर्ने

सुरेन्द्र पौडेल, काठमाडौं । पालुङ खोला जलविद्युत परियोजना र तमोर–५ जलविद्युत परियोजनाका लागि लगानी जुटेको छ । २१ मेगावाट क्षमताको पालुङ खोला र ३७.५ मेगावाट क्षमताको तमोर–५ का लागि आवश्यक लगानी जुटेको हो । यी दुई परियोजनाका लागि सानिमा बैंकको नेतृत्वमा नेपाल बैंक, कृषि विकास बैंक, एनसीसी बैंक, कुमारी बैंक र शिद्धार्थ बैंकले ऋण लगानी गर्ने भएका छन् ।

पालुङ खोला हाइड्रोपावर प्रा.लि. र रिभरसाइड हाइड्रो इनर्जी प्रा.लि. अन्तर्गत यी परियोजनाको निर्माण कार्य अगाडि बढेको हो । ताप्लेजुङको पालुङ खोला र तमोर खोलामा यी परियोजनाको निर्माण हुँदैछ । परियोजनाका अध्यक्ष पुष्पज्योती ढुंगानाको अध्यक्षतामा बिहीबार आयोजित विशेष कार्यक्रमबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा अध्यक्ष ढुंगाना र परियोजनाका लागि ऋण लगानीको नेतृत्व गरेको सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

२१ मेगावाट क्षमताको पालुङखोला जलविद्युत परियोजनाको कूल लागत अनुमान ३ अर्ब ८२ करोड रुपैयाँ छ । उक्त परियोजनाका लागि स्वपूँजी ९६ करोड रुपैयाँ छ भने बाँकी २ अर्ब ८६ करोड रुपैयाँ बैंकले ऋण लगानी गर्नेछ । ३७.५ मेगावाट क्षमताको तमोर–५ को कुल लागत अनुमान ६ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । उक्त परियोजनामा १ अर्ब ७३ करोड रुपैयाँ स्वपूँजी रहनेछ भने बाँकी ५ अर्ब १८ करोड रुपैयाँ बैंकले ऋण लगानी गर्नेछ । यी दुई परियोजनाका लागि सानिमा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ र नेपाल बैंकले एक अर्ब रुपैयाँ र बाँकी ४ वटा बैंकले १ अर्ब ३० करोड रुपैयाँका दरले लगानी गर्ने समझदारी भएको अध्यक्ष पुष्पज्योती ढुंगानाले जानकारी दिए । ‘यी दुवै परियोजनाको काम समयमा नै सक्नेछौं,’ उनले भने, ‘परियोजना सफल बनाउन सबैको साथ सहयोग रहनेमा हामी विश्वस्त छौं ।’ अबको साढे २ वर्षमा निर्माण कार्य सकिने उनले बताए ।

jutta mela

परियोजनाको सञ्चालकहरुमा अध्यक्ष पुष्पज्योती ढुंगानासहित धनराज आचार्य, रघुनाथ पुरी, मित्रप्रसाद काफ्ले, विष्णु पाण्डे र तारानाथ घिमिरे छन् । यस अगाडि १४.९ मेगावाट क्षमताको पाँचथर जलविद्युत परियोजना र सुपरमादी जलविद्युत परियोजनामा लगानी गरेको समूहले नै ताप्लेजुङमा निर्माण हुने यी दुई परियोजनामा लगानी गरेका हुन् ।

ऋण लगानी सम्झौता कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा अध्यक्ष सुभासचन्द्र नेम्वाङले देशको विकासका लागि जलविद्युत क्षेत्रमा हुने लगानी महत्वपूर्ण आधार भएको बताए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सुदुर पूर्वको उत्तरी जिल्ला ताप्लेजुङमा जलविद्युत परियोजनामा राम्रो सम्भावना रहेको धारणा राखे ।

नेपाल बैंकर संघमा अध्यक्ष एवं कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राज्यको प्राथमिकतामा परेको जलविद्युत क्षेत्र लगानीका लागि बैंकहरूको पनि प्राथमिक क्षेत्र रहेको बताए । समयमै परियोजना सक्न उनले सुझाव दिए । उत्पादन बढेसँगै विद्युत निर्यात गरिनुपर्ने उनको भनाइ छ ।

परियोजनाका लागि ऋण लगानीमा नेतृत्व गरेको सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले जलविद्युत परियोजनामा बैंकले प्राथमिकताका साथ लगानी गरिरहेको र आगामी दिनमा पनि लगानी गर्ने बताए । परियोजना समयमा नै सक्नेगरी काम गर्ने सञ्चालक धनराज आचार्यले जानकारी दिए । ऋण सम्झौता भइसकेकाले अब परियोजनाको निर्माण कार्य तिब्र गतिमा अगाडि बढ्ने परियोजनाका महाप्रवन्धक सिए प्रकृतिराज तिमिल्सिनाले बताए ।

You might also like

Comments are closed.