देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ गर्ने क्रममा एक जना खेलाडीको मृत्यु भएपछि प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगर निधन भएको थियो । दुर्घटनाबाट प्रतियोगि खेलाडीको निधन भएपछि आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेल रद्द भएको आयोजकले जनाएको छ ।

अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरूबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोही कारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले त्यस्ता व्यवस्था नभइन्जेललाई उडान रोकेको हो ।प्याराग्लाइडिङ विकास र विस्तार हुँदै जाँदा त्यसको सुरक्षा सम्बन्धी सवाल पनि पेचिलो बनेको छ ।

You might also like

Comments are closed.