पशु बीमाको रकम भुक्तानी नहुँदा किसानहरु मारमा, समस्या समाधानको माग

काठमाडौं । नेपाल डेरी एसोसिएसनले पुश बीमा बापतको रकम किसानलाई सहज रुपमा भुक्तानीको व्यवस्था गर्न माग गरेको छ ।

‘अहिले पछिल्लो समय बीमा कम्पनीहरूले राज्यबाट पाउनु पर्ने बीमा अनुदान रकम समयमै नपाएको र त्यसले समस्या भएको छ । अबबाट पूर्ण रकम अग्रिम नपाएसम्म बीमा नगरिने कुराले किसानहरु अत्यन्तै मारमा पर्ने देखिन्छ,’ एसोसिएसनको विज्ञप्तिमा भनिएको छ, ‘यदि राज्यद्वारा बीमा कम्पनीलाई कुनै बक्यौता भुक्तानी गर्न बाँकी भए तुरुन्तै गर्नु प¥यो र यदि कहीँ कतै नीतिगत त्रुटि भए त्यसको हल गरी किसानले पाउने सुविधा निरन्तर बीना झन्झट उपलब्ध गराइनु पर्छ ।’

किसानहरु समस्यामा परिरहेको अवस्थामा झन समस्या थप्ने काम गर्न नहुने अध्यक्ष प्रल्हाद दाहालले बताए।

jutta mela

विज्ञप्तिको पूर्ण पाठः

नेपाल कृषि प्रधान देश हो । कृषिमा पनि विशेष गरी पशुपालन क्षेत्रको मुख्य भूमिका छ । तर यसमा राज्यको तर्फबाट खासै साथ र सहयोग रहेको पाइँदैन । कुनै पनि काम गर्दा त्यसको जोखिम मल्न बीमा गर्ने गरिन्छ । राज्यले त्यो महसुस गरेर पशु बीमा अनुदान दिने गरेको थियो । नेपालमा ७२ सालमा भूकम्प, त्यसपछि ७६÷७७ मा कोभिड, लम्कि स्किन रोग जस्ता विभिन्न समस्याहरु आएका थिए । यस्तै वा यी भन्दा पनि बढी समस्या भविष्यमा पनि नआउला भन्न सकिन्न । अब झन् गर्मीको समयमा विभिन्न किसिमका रोग, हावाहुरी, पानी, बाढी आउने समय हुन लाग्यो । बीमा भनेकै यस्तै समस्या आउँदा त्यसको जोखिम खेप्नको लागि नै हो । तर विडम्बना भन्नु पर्दछ त्यसको ठिक विपरित हाम्रो देशमा जब जब समस्या आउँछ वा आउनेवाला छ भनेपछि हाम्रो देशका बीमा कम्पनी र राज्यले हात छोड्ने गरेको महसुस हुने गरेको छ ।

अहिले पछिल्लो समय बीमा कम्पनीहरूले राज्यबाट पाउनु पर्ने बीमा अनुदान रकम समयमै नपाएको र त्यसले समस्या भएको छ । अबबाट पूर्ण रकम अग्रिम नपाएसम्म बीमा नगरिने कुराले किसानहरु अत्यन्तै मारमा पर्ने देखिन्छ । यदि राज्यद्वारा बीमा कम्पनीलाई कुनै बक्यौता भुक्तानी गर्न बाँकी भए तुरुन्तै गर्नु प¥यो र यदि कहीँ कतै नीतिगत त्रुटि भए त्यसको हल गरी किसानले पाउने सुविधा निरन्तर बीना झन्झट उपलब्ध गराइनु पर्छ ।

अहिले विशेषगरी दुग्ध किसानहरू अत्यन्तै मारमा परेका छन् । बेचेको दूधको भुक्तानी समयमा पाएका छैनन् भने निरन्तर पशुलाई आहारा, कामदारको तलब, औषधि उपचार आदि निरन्तर खर्च गरिरहनु परेको छ। अझ त्यसमा पनि भोलि कुनै ठूलो महामारी वा अन्य कुनै कारणले पशुको क्षति भएमा यसरी बीमा नहुँदा पशुपालक किसानलाई ठूलो मार पर्ने छ र सबै कुराले अफ्ट्यारो परि सडकमै पुग्ने निश्चित छ । त्यसकारण उनीहरूलाई यस्तो दुःखद अवस्थामा जसरी जे गरेर भएपनि पेशामा टिकाई राख्न राज्यको पनि दायित्व भएकाले किसानले पाउनुपर्ने बीमा सुविधा तत्काल उपलब्ध गराई बीमा कम्पनीहरूलाई पशुबीमा र कृषि बीमा गर्न गराउनु हुन सम्बन्धित निकायले व्यवस्था मिलाउनु पर्छ। अन्यथा किसानहरु यी पेशाबाट पलायन हुन सक्छन् । त्यसैले यसको लागि नेपाल डेरी एसोसिएसन सबै सरोकारवाला निकायलाई विनम्र अनुरोध गर्दै यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

बोधार्थ :
– कृषि तथा पशुपंक्षी विकास मन्त्रालय – अर्थ मन्त्रालय
– कृषि विभाग – पशु सेवा विभाग
– बिमा प्राधिकरण – राष्ट्रिय दुग्ध विकास बोर्ड
– केन्द्रीय दुग्ध सहकारी संघ – नेपाल बिमक संघ
– केन्द्रीय पशुपंक्षी तथा मत्स्य सहकारी संघ
अध्यक्ष : प्रल्हाद दाहाक
महासचिव : हेमचन्द्र खनाल

You might also like

Comments are closed.