औद्योगिक, कृषि र आवास क्षेत्रको वर्गीकरणमा सरकार चुक्दा विभिन्न समस्या

पोखरा । पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानार्थ पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन संघ कास्कीद्वारा आयोजित स्वागत कार्यक्रममा वक्ताहरूले समान धारणाका साथ अघि बढ्दा अपेक्षित सफलता हासिल हुने बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले औद्योगिक, कृषि र आवास क्षेत्रको वर्गीकरणमा सरकार चुक्दा विभिन्न समस्या आउने गरेको बताए । हिजो औद्योगिक क्षेत्र खाली क्षेत्रमा बनाइएको तथ्य पेश गर्दै उनले उद्योगले रोजगारी दिँदा नै ती क्षेत्रमा बस्ती बढेको उल्लेख गरे । औद्योगिक क्षेत्रले पोखराको विकासमा दिएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै कोइरालाले पोखराको कोत्रेमा प्रस्तावित नयाँ औद्योगिक क्षेत्र स्थापनार्थ संघले सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख भूषणप्रसाद उपाध्यायले पोखरा औद्योगिक क्षेत्रबाट प्रदूषण भयो भन्ने गुनासो नाजायज भएको बताउँदै उद्योगले प्रदूषण नियन्त्रणमा सक्दो योगदान दिएको धारणा राखे ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले उद्योग र वाणिज्य क्षेत्रको विकाससँगसँगै हुनुपर्नेमा जोड दिए । पोखरा औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहकार चन्द्रराज राजभण्डारी, सल्लाहकार तथा सीएनआइका अध्यक्ष विनोद न्यौपाने, पोखरा औद्योगिक क्षेत्र उद्योग संघा अध्यक्ष सुरेशबहादुर श्रेष्ठ, संघका सचिव सुरेन्द्रबहादुर गोदारलगायतले सहकार्यमा नै बल हुने बताउँदै निजी क्षेत्रको आवाज सधैँ एक हुनुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.