‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला’ पोखरामा जारी, दर्शक र कारोबार बढ्दो

सोमबार चर्चित लोकगायक श्याम राना र तुलसा जिसीको प्रस्तुति रहने

पोखरा । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ मेलामा सोमबार चर्चित लोकगायक श्याम राना र तुलसा जिसीको प्रस्तुति रहने भएको छ ।

मेलाको सांस्कृतिक उपसमितिकी संयोजक शोभा गौतमका अनुसार उनीहरुको प्रस्तुतिसँगै डान्स आइडल एवं रत्यौली गीतका प्रतिस्पर्धीहरुले पनि अवलोकनकर्तालाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । आइतबार रितु कँडेल, लक्ष्मी बानिया, पार्वती गुरुङ, रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, मिलन पौडेललगायतको प्रस्तुति रहेको थियो ।

सोमबार अगुवा महिला उद्यमीहरु इन्दिरा बराल र लक्की क्षेत्री कार्कीसँग उद्यमशीलताबारे अन्तरक्रिया कार्यक्रम पनि राखिएको संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाले बताए । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

लगानीको सम्वर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन भन्ने नारा अनुरुप नै यो मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको आयोजक पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिए ।

उनका अनुसार मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् ।

तेस्रो दिनसम्म करिब १३ हजार जनाले मेलाको अवलोकन गरेको पनि उनको भनाइ छ । यता मेलाको टिकट व्यवस्थापन उपसमितिका संयोजक सुदीप ओझाका अनुसार आइतबार २० जना अवलोकनकर्ताले प्रवेश टिकटमा राखिएको अन्नपूर्ण केबलकारको टिकट प्राप्त गरे भने २ जनालाई गोला प्रथाबाट बाल्ट्राको कुकर प्राप्त भयो ।

मेलाको प्रवेश टिकटमा विभिन्न खाले छुटको व्यवस्था गरिएको जनाउँदै उनले प्रवेश टिकटमा खर्चिएको रकमभन्दा बढी लाभ मेला अवलोकनकर्तालाई प्रदान गरिएको बताए ।

You might also like

Comments are closed.