सवारी पार्किङ निषेधको निर्णयप्रति पोउवा संघको ध्यानाकर्षण

पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखराको मुख्य व्यापारिक क्षेत्र पृथ्वीचोक–सभागृहचोक–न्यूरोड–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजारका सडकमा सवारी पार्किङ निषेधको निर्णयप्रति ध्यानाकर्षण गराएको छ ।

पोखरा महानगरपालिकाले माघ २३ गतेदेखि पोखराको पृथ्वीचोक–सभागृहचोक–न्यूरोड–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार सडकमा सवारी पार्किङ निषेध गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको विरोध जनाएको हो । पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै व्यवस्थित, सुरक्षित र सभ्य पोखरा निर्माण अभियानलाई सघाउँदै आएको र संघले यहाँका सडकमा हुने अवैधानिक व्यवसायलाई व्यवस्थित बनाउन एवं फुटपाथ पैदलयात्रीले नै उपयोग गर्न पाउनुपर्छ भन्ने अभियानको नेतृत्व लिएको पनि विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

पोखराको अव्यस्थित ट्राफिक समस्याको व्यवस्थापन संघको चासो र सरोकार विषय भएको बताउँदै संघले महानगरबाट असल नियतले अगाडि सारिएको यो अभियानको सह्राना गरेको जनाएको छ । तर, गम्भीर र दीर्घकालीन महत्वको निर्णय लिँदा पोखरा उद्योग वाणिज्य संघसहित सो क्षेत्रका आम नागरिकसँग कुनै परामर्श नगरिनुले दुखित तुल्याएको जनाएको छ ।

कुनै बजार रातारात नबन्ने बताउँदै संघले व्यवसाय विस्थापन हुँदाको क्षति र दुष्परिणामहरु दीर्घकालीन हुने बताएको छ । अहिले महानगरले सवारी निषेधित क्षेत्र घोषणा गरेका क्षेत्रहरु पनि लामो प्रक्रियाबाट व्यापरिक केन्द्र बनेको संघले जनाएको छ । आफूले गरेको लगानीको सुरक्षा र प्रतिफल व्यवसायीको अधिकार रहेको बताउँदै महानगरको सवारी निषेधको निर्णयसँगै सो क्षेत्रका व्यवसायीहरुमा विस्थापन र लगानी डुब्ने चिन्ता थपिएको जनाएको छ ।

महानगरले यो चिन्ताको संम्बोधन गरोस् भन्ने महासंघको माग छ । यसका साथै सवारी पार्किङको लागि पर्याप्त र सुरक्षित स्थलको व्यवस्थापन, सहुलियतपूर्ण शुल्क निर्धारण, निषेधको निर्णयसँगै सहरका अन्य क्षेत्रमा पर्न सक्ने सम्भावित पार्किङ भार र निम्त्याउन सक्ने समस्याको संम्बोधन, सार्वजनिक यातायातको सुधार र सुनिश्चितता एवं निजी क्षेत्रसँग समझदारीपूर्ण साझेदारीमा पनि संघको चासो छ ।

साथै संघले पार्किङ समस्याको दीर्घकालीन समाधान खोजिनुपर्ने सरकारबाट गरिने निर्णयबाट उपभोक्ता तथा व्यवसायीहरु प्रताडित बन्न नहुने पनि जनाएको छ।

You might also like

Comments are closed.