व्यापार मेलाको तयारी तीव्र, मेलालाई सघाउने बस्तुगत संघहरुको प्रतिवद्धता

पोखरा । पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ ।पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ देखि पुस १ गतेसम्म मेला आयोजना हुन लागेको हो ।

पोखरेली व्यावसायिक घराना लक्ष्मी हाउसको समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक रहेको छ भने पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्र्धन गर्ने जिम्मेवारी लिएका छन् । ‘लगानीको सम्वद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेला उद्यमशीलता विकासमा समर्पित रहेको आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले जनाए । उनका अनुसार मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, बास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शनका अलावा, नयाँ औद्योगिक उत्पादनहरु, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको छ ।

उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्धेश्य भएको उनको भनाइ छ । मेलाको प्रवेशमा टिकटको व्यवस्था गरिएको र प्रत्येक टिकट बिक्रीबाट प्राप्त हुने १० रुपैयाँ जाजरकोट भूकम्पपीडितको लागि प्रदान गरिने उनले जानकारी दिए ।

संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलामा देशका विभिन्न प्रतिष्ठिन घराना र उत्पादनहरु जोडिएको र जोडिने क्रम जारी रहेको बताए ।

संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेलाको स्टल निर्माण सुरु भएको जानकारी दिँदै योपटक स्टलको साजसज्जालाई विशेष ध्यान दिइएको जिकिर गरे ।

संघका महासचिव बलराम आचार्यले मेला सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरु सक्रियतापूर्वक आफ्नो काममा लागेको बताउँदै मंगलबारमात्रै बस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग बैठक सम्पन्न गरिएको बताए ।

सो बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उपसमिति संयोजक रामकली खड्काले मेलामा महिलाहरुलाई बढीभन्दा बढी सहभागी गराउनुपर्ने बताइन् । उनले महिलाहरुद्धारा उत्पादित बस्तुहरुको प्रदर्शन र बिक्रीमा ध्यान दिन पोउवा संघसँग आग्रह पनि गरिन् ।
बैठकमा पोखरा प्लाष्टिक व्यवसायी समितिका अध्यक्ष ऋषिराम शर्मा र सचिव परशुराम तिवारी,पृथ्वी होटल व्यवसायी संघका सचिव कृष्ण पौडेल,नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समितिका अध्यक्ष कविन्द्रप्रसाद पोखरेललगायतले पोउवा संघले आयोजना गरेको मेलालाई सफल बनाउन हरसम्भव सघाउने प्रतिवद्धता जनाएका थिए ।

You might also like

Comments are closed.