प्रधानमन्त्रीद्वारा छ जना उद्यमी सम्मानित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई आह्वान गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको बिहीबार उद्घाटनका अवसरमा बोल्दै उनले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्नेमा जोड दिए ।

अन्य उद्यमी–व्यवसायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै लागि लगानी बढाउन आग्रह गर्दै प्रधानमन्त्रीले नीतिगत एवं प्रक्रियागत झन्झट झेल्ने परिस्थितिको अन्त्य गर्न आफू लागिपरेको बताए । ‘प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौँ, प्रशासनिक झन्झट पनि अन्त्य गर्छौँ,’ उनले भने ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशको आर्थिक विकासका लागि अग्रपङ्तिमा रहेर काम गरिरहेको निजी क्षेत्रको प्रवद्र्धनमा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गर्दै सरकारका लागि विश्वासिलो साझेदार तथा नेपाली जनताका लागि उन्नत भविष्यको सारथीका रुपमा चेम्बरले आफ्नो परिचय बनाएकामा खुशी व्यक्त गरे ।

कार्यक्रमका सभापति एवं चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिड सङ्कटका कारण मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित भएको तथा यसले गति लिन नसकेको बताउँदै पर्यटनलगायत कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको उद्यमी–व्यवसायीका पीडा सुनाए । ‘३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैँमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ,’ अध्यक्ष श्रेष्ठले भने ।

प्रधानमन्त्रीद्वारा छ उद्यमी सम्मानित

प्रधानमन्त्री ओलीले मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकासमा उल्लेखनीय योगदान गरेबापत छ जना उद्यमी–व्यवसायीलाई सम्मान गरेका छन् । चेम्बरको वार्षिक साधारणसभामा बिहीबार उनले चेम्बरका छ जना पूर्वअध्यक्षको स्मृतिमा स्थापना गरिएका ती सम्मान प्रदान गरेका हुन् ।

प्रधानमन्त्रीले ‘ईश्वरलाल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, वनवारीलाल मित्तल स्मृति सम्मान सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपाने तथा महिला उद्यमीतर्फको जनकदास श्रेष्ठ स्मृति सम्मान इन्दिरा सापकोटालाई प्रदान गरे । उद्यमी सापकोटालाई उहाँले नगद रु एक लाख ५० हजार पनि प्रदान गरे ।

त्यसैगरी उनले गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानलाई कृषि क्षेत्रको विकासमा गरेको योगदानको कदर गर्दै राजबहादुर चिपाली स्मृति सम्मान, भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई जुद्धबहादुर श्रेष्ठ स्मृति सम्मान तथा विशाल ग्रुपका अध्यक्ष जगदीश अग्रवाललाई इन्द्रभक्त स्मृति सम्मान प्रदान गरे ।

You might also like

Comments are closed.