पोखराका किसानलाई अनुदानमा कृषि उपकरण वितरण

पोखरा । पोखरा महानगरपालिका भित्र रहेका कृषकहरूलाई मिनी टेलर लगायतका कृषि औजारहरू वितरण गरिएको छ । आर्थिक विकास महाशाखाद्वारा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषकहरूलाई मिनी टेलर लगायतका कृषि औजारहरू वितरण गरेका हुन् ।

मंगलबार २६१ थान मिनी टेलर, ६२ थान कम्बाइन मिल, थ्रेसर ६ थान, १०८ थान घाँस काट्ने मेशिन, ड्याङ बनाउने मेसिन २९ थान, पावर स्प्रे ३० थान र तेल पेल्ने मेसिन ६ थान महानगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा कृषकहरूलाई वितरण गरिएको हो ।

कृषि औजारहरू वितरण गर्दै प्रमुख आचार्यले कृषिको यान्त्रिकीकरण र उत्पादकत्व वृद्धिमा यसले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यी औजारहरूको उपयोगले कृषकहरूलाई प्रत्यक्ष फाइदा पुग्ने उनले बताए । कृषिजन्य उत्पादनमा पोखरालाई आत्मनिर्भर बनाउने गरी कृषकहरूको उत्पादकत्व क्षमतामा वृद्धि गर्नुपर्ने अवस्था रहेको उनले बताए । “निर्धक्क भएर उत्पादकत्व वृद्धिमा लाग्नुहोस्, पोखरा महानगरपालिका यहाँहरूको साथमा छ” प्रमुख आचार्यले भने ।

jutta mela

उनले आगामी आर्थिक वर्षका लागि योजनाहरू छनौट गर्दा हरेक वडामा प्रोजेक्ट बैक स्थापना गरी आवश्यकता र प्राथमिकताका आधारमा योजनाहरूको छनौट गरिने बताए । यसले गर्दा योजनाहरूको डुब्लिकेसनमा समस्या नहुने र आवश्यकताका आधारमा योजनाहरू छनौट हुने हुँदा कार्यान्वयनमा सहजता मिल्ने उनले विश्वास व्यक्त गरे ।

आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा महानगरपालिका कृषिलाई यान्त्रिकीकरण गर्ने अभियानमा रहेको बताए । विगतमा सानो सङ्ख्यामा यस्ता प्रकारका औजारहरू वितरण गर्ने गरिएको स्मरण गर्दै उनले यस वर्ष देखी ठुलो सङ्ख्यामा कृषकहरु लाभान्वित हुने गरी गतिविधिहरू सञ्चालन गरिएको बताए । यसको सदुपयोगतामा उनले जोड दिए ।

अनुदान सहयोगमा हाते ट्र्याक्टर प्राप्त गरेकी पोखरा महानगरपालिका–३३ की कृषक ज्योति गुरुङले समय र पैसा बचत हुने बताइन् । “गाउँमा हाते ट्र्याक्टर थिएन । पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो । अनि एक घण्टाको एक हजार रुपैयाँसम्म तिरियो, अब पैसा र समय बचत हुने भयो”, उनले भनिन् ।

You might also like

Comments are closed.