पोखरा महानगरपालिकामा कार्यरत ६५६ जना स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य सामग्री

पोखरा । पोखरा महानगरपालिकामा कार्यरत ६५६ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य सामग्रीहरू वितरण गरिएको छ । महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित स्वास्थ्य सामग्री वितरण तथा वृहत भेलामा प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ लगायतले उनीहरूलाई ती सामग्रीहरू वितरण गरेका हुन् ।

सो क्रममा प्रमुख आचार्यले नागरिकको स्वास्थ्य सुरक्षाको सवालमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको सेवा र खर्चिएको समय उत्तिकै महत्वपूर्ण रहेको बताए । ‘आफ्नो समय नागरिकको जनस्वास्थ्यमा लगाउने गरी विगत लामो समयदेखि यहाँहरू अहोरात्र खटिरहनु भएको छ,’ प्रमुख आचार्यले भने, ‘निस्वार्थ सेवाको भाव सामाजिक रूपमा किट ब्याग बोकेर यहाँहरूले गौरवका साथ देखाउनु भएको छ, यहाँहरूको महानता, समर्पण र सेवा प्रति म नतमस्तक छु ।’ सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक योगदान अतुलनीय रहेको प्रमुख आचार्यले बताए ।

महानगरको टोल टोलमा पुगेर स्वास्थ्य सचेतनाको जागरण ल्याउने र मानिसहरूलाई आफ्नो स्वास्थ्य प्रति सचेत गराउने स्वास्थ्य स्वयम सेविकाहरूलाई खटाई अनुसारको सेवा सुविधा दिन नसकिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षबाट यसलाई सम्बोधन गर्न विशेष पहल गरिने बताए । ‘स्वयंसेविकाहरूको सेवा सुविधाका विषयमा हामीले पनि महसुस गरेकै विषय हो,’ उनले भने, ‘आगामी आ.व.देखि यसमा थप केही व्यवस्था गर्ने सम्बन्धमा विशेष पहल गरिनेछ ।’ स्वास्थ्यका हिसाबले मानवीय सेवामा उनीहरूले दिएको समय अतुलनीय रहेको उनले बताए ।

उपप्रमुख मन्जुदेवी गुरुङले आधारभूत सेवाको पहुँच नपुगेका दूर दराजमा पुगेर सरकारको उपस्थिति देखाउने स्वयंसेविकाहरूको योगदान उल्लेखनीय रहेको बताइन् । महिला, बालबालिका र वृद्धावृद्धहरुलाई अप्ठ्यारो परेका बेला पहिलो सेवकको रूपमा उपस्थिति जनाउने महिला स्वास्थ्य स्वयंसेविकाहरू आफैमा अनुकरणीय भएको उल्लेख गरिन् । ‘सरकारको तर्फबाट तपाईंहरुलाई जति सम्मान दिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन,’ उपप्रमुख गुरुङले भनिन्, ‘पोखरा महानगरपालिकाको क्षमताले भ्याएसम्म आगामी बजेटमा तपाँईहरुका समस्याहरू सम्बोधन गर्ने प्रयत्न गरिने छ ।’

महानगरको स्वास्थ्य समितिका उपाध्यक्ष पूर्ण लामाले महानगरद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूको सेवा विस्तार र क्षमता अभिवृद्धि आवश्यक रहेको बताए ।

You might also like

Comments are closed.