पोखरा महोत्सवमा निःशुल्क स्वास्थ्य जाँच

पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निःशुल्क स्वास्थ्य जाँचको समेत सेवा लिन पाउने भएका छन् ।

महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निःशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको ब्यवस्था मिलाएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

प्रेसर र सुगर संगै महोत्सवमा आउने दर्शकहरुले तीनवटै स्वास्थ्य संस्थाबाट अन्य चेकजांचमा ५० प्रतिशत छुट पाउने महोत्सवका प्राथमिक उपचार संयोजक नरहरि पनेरुले जानकारी दिए । महोत्सवको सातौ दिनमात्रै दुई सयजनाले सुगरको निःशुल्क परिक्षण गरेका छन् । महोत्सवमा प्रत्येक दिन सुगर र प्रेसरको निःशुल्क परिक्षण गराइरहेको समेत पनेरुले बताए ।

महोत्सवको सातौ दिनसम्म आइपुग्दा साढे तीन करोडको कारोबार भएको र ८० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक सूर्यबहादुर बानियाले जानकारी दिए । बानियाका अनुसार महोत्सवमा विशेष गरी जाडो यामका सामाग्री, घरायसी प्रायोजनको सामाग्री, विद्युतिय प्रयोजनका सामग्रीसंगै तरकारी जन्य सामग्रीहरुको बिक्री वितरण भएको छ ।

महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायिका प्रिती आलेले लोकदोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिन् भने आलेसंगै लोकदोहोरी कलाकारहरु जीवन दाहाल, शिवहरी ढंगाना, निश्चल दवाडी, मञ्जु बिक, सरीता सारु मगर, टस गुरुङ, तुलसा जिसीलगायतको प्रस्तुतीमार्फत दर्शहरुले भरपुर मनोरञ्जन लिएका थिए । साँझको लाइभ कन्सर्टमा झिल्के एण्ड द कम्पनीको प्रस्तुतीमार्फत युवाहरुले भरपुर मनोरञ्जन लिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको आठौ दिन बुधवार लोकदोहोरी तर्फ बद्री पंगेनी, जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती रहनेछ भने, लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती रहनेछ ।

त्यसैगरी महोत्सवमा जारी विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा मेट्रोपोलिटन एकेडेमी र भ्यूप्वाइन्ट बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ भने, बुधवार श्री कालिका मावि, राष्ट्रिय मावि, कास्की मोडनाइज एकेडेमी, टप्स बोर्डिङ स्कुल, अमरसिंह मावि र बेसलाईन एकेडेमीबीच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णुकुमार गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.