पोखरा । एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधीसंगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रह्याे ।
त्यसैगरी प्रतियोगितामा कास्की मोर्डनाइज एकेडेमीले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेकाे छ भने, मेट्रोपोलिटन एकेडेमीले तेश्रो स्थान हासिल गर्दै नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएकाे छ ।
भ्युप्वाइन्ट बोर्डिङ स्कुलले शान्तवना स्थान हासिल गर्दै नगद ७ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेकाे छ। प्रतियोगितामा २० स्कुलको सहभागीता रहेको थियो ।
प्रतियोेगितामा विजयीहरुलाई पुरस्कार प्रायोजक युएनआई एक्सपर्ट एलइडी लाइटिङका सञ्चालकहरु पियुस कठारी, वीरबहादुर कंडेल र चन्द्रबहादुर थापा, महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिनालगायतले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
महोत्सवको १२ औं दिन दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक राजु परियार, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवरलगायतको एकल तथा दोहोरीमार्फत दर्शकहरुले भरपुर मनोरन्जन प्रदान गरेका थिए ।
त्यसैगरी साँझको लाइभ कन्सर्टमा दीक्षिता कार्कीको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको १३ औं दिन लोकदोहोरी तर्फ श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनारलगायतको प्रस्तुती रहने छ भने, साँझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
यसैविच माघ ९ गतेसम्म आयोजना हुने भनिएको महोत्सव एक दिन थप गरिएको आयोजकले जनाएको छ । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनाको दिनमा आयोजकले महोत्सव स्थगित गरेका कारण महोत्सवको अवधि एक दिन थप गरिएको महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
महोत्सवको माघ १० गते कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङको प्रमुख अतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ।
Comments are closed.