पोखरा । पुस २७ देखि पोखराको अमरसिंह चौरमा सञ्चालन भएको पोखरा महोत्सव आज सम्पन्न भएको छ । १४ दिनसम्म सञ्चालन भएको पोखरा महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर १ का सांसद् मनबहादुर गुरुङले युनाइटेड क्लब पोखराले सामाजिक कामका लागि महोत्सवको आयोजना गरेर अगाडि बढिरहँदा अन्य संघ संस्थाहरुले पनि यस्ता कामलाई अनुशरण गर्नुपर्नेमा जोड दिए ।
महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणसंगै शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदीलाई साहसिक पर्यटकीय गन्तब्य बनाउनतर्फ लागिरहेको र त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङले युनाइटेड क्लव आफ्नो उद्देश्यमा अगाडि बढ्दै उद्देश्यलाई पूरा गर्नतर्फ लागिरहेको र त्यसमा आफ्नो सधैं साथ र सहयोग रहने बताए । महोत्सवका मुख्य प्रायोजक बेटर होम एपलायन्सेसका सञ्चालक विनोद रौनियारले महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि बढिरहेको युनाइटेड क्लबसंग आफ्नो संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्नेगरी सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए ।
आर एस सी ट्रेडिङ प्रालिको बेटर होम एपलायन्सेस घरायसी सामाग्री उत्पादनसंगै बिक्री गर्ने कम्पनी रहेको बताउदै रौनियारले बेटर ब्राण्डबाट घरमा प्रयोग हुने राइसकुकर, प्रेसर कुकर, ग्यास चुलो, मिक्सचर ग्रयाण्डर, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, हिटरका साथै विभिन्न इलेक्ट्रोनिक्स आइटमहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको बताए ।
नेपालमै उत्पादन भएकोे आफुहरुको ब्राण्ड ग्राहकहरुको रोजाइमा पर्न सफल भएको बताउदै रौनियारले पोखराको आफ्नै स्थानिय कम्पनी भएका कारण पनि पोखरेली जनताको साथ र सहयोग सधैं झै उच्च स्तरमा रहने आशा समेत ब्यक्त गरे ।
त्यस्तै, जिल्ला डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले एउटा क्लबले गरेको सामाजिक काम चानेचुने कुरा नभएको बताउँदै पोखरामा सामुदायिक स्तरको चिडियाखाना निर्माणमा काम गर्ने संस्था युनाइटेड क्लव चिडियाखानाको मातृ संस्था रहेको बताए । वन जैविक विविधता मात्र नभएर शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको युनाइटेड क्लबको हरेक गतिविधीमा आफ्नो साथ र सहयोग रहने उनको भनाइ रहेको थियो ।
त्यस्तै, अमरसिंह माबिका प्रध्यानाधयापक तेजश्वी बरालले युनाइटेड क्लवले हालसम्म लिएको उद्देश्यलाई प्राप्त गर्न सफल भएको र एघारौं पोखरा महोत्सवदेखि पोखरा लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुने छात्राबास निर्माणको उद्देश्यसमेत पूरा हुनेमा आफू विश्वस्त रहेको बताए । अमरसिंह मावि हालसम्म सबैको मनमा बस्न सफल विद्यालय बनेको बताउँदै विद्यालयको उन्नती र प्रगतीको लागि सबैको साथ र सहयोगको समेत अपेक्षा रहेको उनको भनाइ रहेको थियो ।
महोत्सव अवधिभर करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरे भने करिब १० करोडको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सव स्थलबाट पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना अवलोकनका लागि लगभग ८ सयजनाले महोत्सव स्थलबाट निःशुल्क बसबाट सेवा लिएको आयोजकले जनाएको छ ।
त्यसैगरी महोत्सव स्थलमा करिब ५ सय जनाले घोडसवारको मजा लिएका थिए भने, करिब १५ सय बालबालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए । महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायकसंगै अन्तर्राष्ट्रिय ब्याण्डहरुको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
महोत्सवको अन्तिम दिन चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनारलगायतले लोक दोहोरीमार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए भने, सांझको कन्सर्टतर्फ चर्चित र्यापर एएनटीएफबाट चर्चित भएका र्यापर माइलाको प्रस्तुतीमा पोखरेली युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
Comments are closed.