काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बंगलादेशको सहकारी अभियानका सन्दर्भमा अनुभव आदानप्रदान कार्य भएको छ । पोखरा रोयल साकोसमा बंगलादेशको बचत तथा ऋण केन्द्रीय सहकारी संघको नेतृत्वमा सहकारी अध्ययन अवलोकनमा आएको टोलीसंग सहकारीले गरेका गतिविधिबारे आदानप्रदान गरिएको हो ।
पोखरा रोयल सहकारीका उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले स्वागत गर्दै दुई देशको सहकारीको अनुभवले सहकारी पर्यटनमा थप योगदान गरेको र एक अर्काको असल कार्य र अनुभवले दुबै देशका सहकारीकर्मीहरु लाभान्वित भएको बताए ।
द कोअपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेशका (सिसियूएलबि) का कोषाध्यक्ष नोरेश चन्द्र विश्वासको नतृत्वमा २९औं श्रृंखलाको रुपमा नेपाल आएका भ्रमण टोलीमा केन्द्रीय संघका सञ्चालकहरु, बंगलादेशका सहकारी विभागका एडिसनल रजिष्ट्रार, उपरजिष्ट्रार विभिन्न सहकारीका सञ्चालक तथा व्यवस्थापक गरी २० जना सहभागी थिए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून) र द कोअपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेशका (सिसियूएलबि) बीच विगत १५ वर्षदेखि निरन्तर सद्भावना भ्रमण हुँदै आइरहेको छ । कार्यक्रममा नेफस्कूनका सञ्चालक कमलादेवी गिरी तथा संघका वरिष्ठ अधिकृतहरु, पोखरा रोयल सहकारीका सञ्चालक, लेखा समिति, विभिन्न उपसिमितिका संयोजक, कर्मचारी लगायत सहभागी थिए ।
पोखरा रोयल सहकारीको समग्र गतिबिधिको बारेमा संस्थाका व्यवसाय विकास अधिकृत अभिषेक गुरुङले जानकारी गराएको कार्यक्रमको सञ्चालन सूचना प्रविधि विभागका अधिकृत अविनाश पौडेलले गरेका हुन् । सहभागीले राखेका जिज्ञासाको जवाफ संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ, सिईओ भीमबहादुर गुरुङ र संस्थाका वरिष्ठ अधिकारीले दिएका हुन् । संस्थाका कर्मचारीबाट नेपाली तथा बंगाली भाषाका गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
पोखरा रोयल सहकारीमा बंगलादेशका सहकारी टोलीले गरेको यो तेस्रो भ्रमण हो भने संस्थामा विभिन्न देश तथा स्वदेशभित्रका ६ सय बढी सहकारी संघ संस्थाबाट १० हजार बढी सहकारीकर्मीले अध्ययन अवलोकन भ्रमण गरिसकेको संस्थाका मुख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।
Comments are closed.