ट्रेड मलले चाडपर्वमा ल्यायो ‘नगदै नगदको वर्षा’ उपहार योजना

पोखरा । पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर यस वर्ष ‘नगदै नगदको वर्षा’ उपहार योजना ल्याएको छ ।

ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले यही भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी सो उपहार योजना ल्याएका हुन् । चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बताए ।

उनका अनुसार टे«ड मलभित्र पाँच सय रुपैयाँभन्दा माथिको सामान खरीदमा ग्राहकले निःशुल्क उपहार कुपन प्राप्त गरी लाखौँको उपहार जित्न सक्नेछन् । ग्राहकले पाक्षिकरुपमा नगद तथा सपिङ भौचरका साथमा गिफ्ट ह्याम्पर र बम्परमा एक लाख रुपैँया प्राप्त गर्ने ट्रेड मलले जनाएको छ । बम्पर उपहार विजेताको छनोट गोलाप्रथाबाट गरिनेछ ।

विशेगरी चाडपर्वको उत्सवका बेला ग्राहकसँग खुशी साट्नका लागि उपहार योजना ल्याइएको त्रिपाठीले बताए । उनले भने, ‘दशैँ तिहार उत्सव योजना ग्राहकसँग खुशी साट्नका लागि ल्याइएको हो । ग्राहकलाई यस योजनाले फाइदा पुग्नेछ ।’

मलको कुनैपनि पसलबाट न्यूनतम पाँच सय रुपैँयाको सामान किन्दा एक वटा बम्पर उपहार कुपनका साथै एक हजार ५०० भन्दा माथि सामान खरीद गर्दा तीन वटा कुपन प्राप्त गर्ने उत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष रघु दवाडीले जानकारी दिए ।

त्यसैगरी पाक्षिक उपहार योजनाका विजेताले एक हजारदेखि १० हजारसम्म नगदका साथै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । ‘स्क्राच एण्ड विन’ अफरमा सहभागी हुनका लागि कुनै पनि पसलबाट पाँच हजार वा सोभन्दा माथिका सामान खरीद गर्नुपर्ने दवाडीले बताए ।

पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, रेष्टुरेन्ट, जिम हललगायतका पसल सञ्चालन रहेको मलका व्यवस्थापक कमल खनालले बताए ।

पोखरा ट्रेड मल विसं २०७२ असोजदेखि सञ्चालनमा रहेको छ ।

You might also like

Comments are closed.