‘कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकार क्रियाशील’

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेश र समग्र मुलुकको जीविकाको मुख्य आधार कृषि नै रहेको उल्लेख गर्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको बताए ।

“कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना, खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ”, सन्देशमा उल्लेख छ ।

यस वर्ष ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ धान दिवस मनाइँदै छ । नेपालमा २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसायमा लागेका नेपालीले पनि आज दही, चिउरा खाई असार १५ मनाउँछन् ।

धान दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले सम्पूर्ण नेपाली नागरिक तथा कृषक दाजुभाइ, दिदीबहिनीमा सुख, समृद्धि, उन्नति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै “असार १५ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्ना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने अभियानमा हातेमालो गर्न अनुरोध गरेका छन् ।

You might also like

Comments are closed.