प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कूल एक सय ६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

त्यसको समयसीमा आजै साँझ ५ बजे सकिएको हो । सो समयसीमा अगावै नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन पेश गरेका थिए। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डको शपथ ग्रहण भने भोलि मात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ। रासस

You might also like

Comments are closed.

Secret Link