प्रधानमन्त्री प्रचण्डले लिए शपथ, ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल डाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् ।

उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।साथै प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् ।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि सोमबार नै शपथ लिएका छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो ।

समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतको उपस्थिति थियो ।

समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

 

You might also like

Comments are closed.