देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने मेरो लक्ष्य छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोलीसँग प्रधानमन्त्री दाहालले उक्त धारणा राख्दै यस कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने स्पष्ट गरेका थिए ।

अनेरास्ववियुको टोलीले प्रधानमन्त्री दाहाललाई बधाई दिन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । त्यस अवसरमा विद्यार्थीहरुले उनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका थिए ।

अनेरास्ववियुका अध्यक्ष पराजुलीका अनुसार सो अवसरमा वाम एकतालगायत समसामयिक राजनीतिक विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको थियो ।

सो संगठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको कुलपति छन् ।

 

You might also like

Comments are closed.